वैदेशिक व्यापार : निर्यात ९५.७५ प्रतिशतले बढ्यो !

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ।
विभागका अनुसार साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत वर्षको साउन महिनाको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको थियो ।
निर्यातमा सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार घाटा भने बढेको छ । चालु आवको साउनमा व्यापार घाटा २.५५ प्रतिशत बढेर १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको साउनमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।
विभागको तथ्याङ्क अनुसार आयात निर्यात रेसियो ५.९८ रुपैयाँ अनुपातमा झरेको छ । यसअघि गत वर्षको साउनमा आयात निर्यात रेसियो १०.५० रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत पुगेको छ । यसअघि गत वर्षको साउनमा ८.७० प्रतिशत थियो ।