दक्षिण कोरियाद्वारा उत्तर कोरियाली सैनिकमाथि गोली प्रहार

काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियाली सेनामाथि चेतावनीपूर्ण गोली चलाएको पुष्टि गरेको छ। यो हप्ताको सुरुमा सीमा पार गरेको भन्दै उत्तर कोरियाली सैनिकमाथि गोली चलाएको दक्षिण कोरियाले पुष्टि गरेको हो। यी सैनिकले केही समयदेखि दुई देशबीचको कडा सुरक्षा व्यवस्था भएको सीमा पार गरेका थिए।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले गोलीबारीलाई जानाजानी गरिएको उत्तेजनाको रूपमा वर्णन गरेको छ। उसले दक्षिण कोरियाले तनाव बढाउने आरोप लगाएको छ। यो घटना दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङ शनिबार जापान र अमेरिका भ्रमणका लागि सियोलबाट निस्केका बेला भएको हो।
उत्तर कोरियाले पछिल्ला हप्तामा आक्रामक अडान अपनाएको छ। नेता किम जोङ र उनकी बहिनी किम यो जोङले हालै दक्षिण कोरियाको मेलमिलाप प्रयासलाई अस्वीकार गरेका थिए। उत्तर कोरियाले गत वर्षदेखि आफ्नो सीमा स्थायी रूपमा सिल गर्ने प्रयास गरिरहेको छ। – एजेन्सी