आज गणेश चतुर्थी

काठमाडौँ । आज भाद्र शुक्ल चतुर्थी अर्थात् भगवान् गणेशको जन्मदिन मनाइँदै छ। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। पहिले गणेशको पूजा गरी वा उनलाई सम्झी गरिएका कार्यमा विघ्न पर्दैन भन्ने विश्वास छ।
यस अवसरमा बुधबार काठमाडौँ उपत्यकाका प्रसिद्ध अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरहरूमा विशेष पूजा-आराधना गरी भगवान् गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ। यस अवसरमा कतिपय मानिसहरू गणेश चतुर्थीको व्रत पनि बस्ने गर्छन्।
यस दिन नेवार समुदायमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि छ। विक्रम संवत् २०६५ सालदेखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य सहरहरूमा गणेश रथयात्रा पनि गरिन्छ। विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यस दिनलाई धर्मसभाको स्थापना दिवसका रूपमा पनि मनाउने गरिन्छ।