पार्टीहरुमा देखिएको ध्रूवीकरणको सन्देश
यतिबेला सिद्धान्त र विचारबिनाका पार्टीहरुमा भूकम्प गएको छ । कोही टुकी बालेर खोपीमा बसेका छन् भने कोही विचारबिना हात्ती भएर अहंकार देखाइरहेका छन् । कसैले विगतमा गरेका कामको ब्याँज खाँदै बसेका छन् । अनि आफ्ना सपना छोडेर हात्तिकै पछाडि लागेका छन् ।
भिजिट भिसा प्रकरणमा होस् या त मानव तस्करी काममा होस्, विरोधका स्वर हराउँदै गएका छन् । के संख्या मात्र ठूलो हो ? विचारमा प्रतिवद्ध भएपछि गुमेका चिजहरु फेरि आउन सक्दछन् । विचारमा विश्वास नभएपछि भएका चिजहरु पनि गुमेर जान्छन् । आफै पनि दलालका पिछलग्गु भएका हुन्छन् । यस अवस्थामा कसैले टेर्ने कुरा हुँदैन । यो जस्तो बिडम्बना अरु केही हुँदैन । विचार त्याग्दै गएपछि स्यालले पनि लखेट्छ । जनयुद्धबाट आएका नेताहरुको यस्तै चर्चितकला देखिएको छ । यसलाई सुधार नगरे केही भएको पनि गुम्ने देखिन्छ ।
अर्काथरी जनयुद्धबाट आएका कोही नेताहरु चार्ज सकिएका ब्याट्रीजस्तो देखिएका छन् । उनीहरुले युवाको शक्तिलाई नजर अन्दाज गर्छन् । यो भनेर उम्लिएर दुध आगोमा पस्नु भनेको होइन । दुबै अतिबाट जोगिएर काम गनुपर्छ । उडेर चन्द्रमालाई छुने लक्ष्य राख्नुपर्छ । क्रमशः समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्छ । तातो भात एकैचोटी खान सकिदैन । सेलाएर तात्तातो भए राम्रो हुन्छ । तर चिसो हुनुहुँदैन । जहिले पनि बेला भएको छैन भन्ने तयारी नगर्ने । एउटा सिङ्को पनि नभाच्ने पवृित्त भयो भने क्रान्ति कसरी बन्न सक्छ ?
कोही टुक्रिएका छन् भने कोही विभक्त हुने अवस्थामा छन् । विचार र सिद्धान्तमा स्थिर पार्टीहरु नभएकोले उनीहरु दिन प्रतिदिन विभाज्य हुँदैछन् ।
एमाले संख्याको दृष्टिकोणले सबभन्दा ठूलो वामपन्थी पार्टी हो । पूँजीवादी विचारको हिसाबले ऊ नेपाली कांग्रेस भन्दा कम छैन । यसलाई एन्जिओ पार्टी पनि भनिन्छ । विद्या भण्डारी निवर्तमान राष्ट्रपति हुन् । अहिले भण्डारीले आपूmलाई दिएको सुविधा त्यागेर पार्टीको सदस्यता लिन खोजेकी छिन् । पार्टीमा गएर गुट जन्माउनेछिन् भनेर डर र त्रास छ । यसैले त्यहाँ भुकम्प गएको छ । ०८० मा नै पार्टी सदस्यताका लागि निवेदन दिइसकेको छ भनेर भण्डारीले भनेकी छिन् भने प्रधानमन्त्री केपी ओलीले निवेदन आएको छैन भनेर छेकबार गरेको बुझिन्छ ।
वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले भने निवेदन आइसकेको हो भनेका छन् । भण्डारी राजनीतिमा आएमा अध्यक्ष र प्रमको दाबी गर्ने छिन् भनेर पार्टी सदस्यता दिन आलटाल गरिएको छ । भण्डरीले भने ‘म डेग चल्दैन, समयमा नै पार्टी सदस्यता लिएको छु’ भनेर दाबी गरेकी छिन् । ईश्वर पोख्रेल, यूवराज ज्ञवालीलगायत ६।७ जनाले भण्डारीको पार्टी सदस्यता छ भनेर भनेका छन् भने अरु नेता भने ओलीको डर र त्रासले मौन रहेको बुझिन्छ । ओली फेरि पनि प्रम बन्न ७३ वर्षको प्रावधान हटाई प्रम हूनका लागि वर्षले नरोक्ने भनेर समितिमा निणर्य गराएको देखिन्छ । यसैले विद्या प्रम बन्न तगारो बन्छिन् भनेर उनलाई राजनीतिमा आउन इन्कार गरिएको छ । पहिले एकदम निकटस्थ ओली र विद्याको अहिले दोहरी चलेको छ । उनीहरुको चालबाजी त होइन भनेर पर्यवेक्षकहरुले भने तर अहिले विद्याको अडान र केपी ओलीको विरोधको स्वर सुनेर यो लडाईं वास्तविक लागेको छ ।
मलाई लाग्छ उनीहरुको विवाद नहोस् । ओली र भण्डारी मिल्नुपर्छ । तर सदासयता प्रकट गरेर मात्र हुदोरहेनछ । उनीहरुको विवाद सतहमा आएको छ । विद्यालाई संविधानले रोक्ने छैन । अहिले विद्या मात्र देखिए पनि विद्याको ठूलो जमात छ । स्व. मदन भण्डारीको छवीले पनि विद्याको समर्थक धेरै हुन सक्छन् । अहिले मदन भण्डारी प्रतिष्ठानमा पुर्वाग्रह राखेर हेरिएको छ । कुर्सी ठूलो रहेछ । यही कुर्सीले जालझेल गर्न सिकाउँछ । संसदीय अभ्यास पनि एउटा फोहरी खेल हो ।
यस्तै माओवादी केन्द्रमा पनि नेताहरुमा दुई धार देखिन्छ । हुन् त पार्टीलाई जीवित राख्न पार्टीमा दुई धार हुनु राम्रो हो । तर स्वच्छ प्रतिस्पर्धा हुनु पर्छ ।
प्रचण्ड र जनार्दन शर्मा प्रभाकरमा विवाद देखिएको छ । अहिले विवाद छैन भने पनि बाहिर सतहमा आएको छ । माओवादी केन्द्रका शिवकुमार मण्डलले अन्नपुर्णमा अन्तर्वार्ता दिएअनुसार ‘पार्टी फुटाउने होइन, पार्टीभित्रको समस्या हल गरेर पार्टीको विकास गर्ने हो, प्रचण्डको विरोध गरेको होइन अपितु पार्टीको उन्नयन गर्ने हो भन्ने कुरा’ गरेका छन् । पार्टीको विकास गर्नु अध्यक्षको दायित्व हो भन्दैमा अध्यक्षको विरोध गरेको मानिदैन । वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल आदिले प्रचण्डलाई साथ दिइरहेका छन् । तर त्यहा जनार्दन शर्मा प्रभाकर दोस्रो धारका नेता मानिन्छन् । प्रायः दुईलाइन संघर्ष जुन पार्टीमा पनि हुन्छ । एकता संघर्ष अनि रुपान्तरण अथवा एकता संघर्ष नयाँ आधारमा नयाँ एकता दन्दवादको नियम हो ।
नगरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र उनकी श्रीमती रन्जना श्रेष्ठबीच पनि अध्यक्ष पदमा विवाद छ । श्रीमान र श्रीमतीबीच प्रतिस्पर्धा हुनु एक किसिमको नाटक हो । तर विडम्बना राजनीतिमा कहिलेकाहीं यस्तै हुन्छ । नेकपा क्रान्तिकारी मोहन वैद्य किरणको नेतृत्वमा भने यस्तो देखिएको छैन । अहिले एक महिना अगाडि मात्र आलमलाई छुटकारा दिने दुई न्यायाधीशलाई क्रन्तिकारीका विद्यार्थीले कालोमोसो लगाइदिएका थिए, जून कुरा समाचारमा संप्रेषण भएको थियो ।
यता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा कुनै पनि अन्तरविरोध छैन । र यसमा कुनैं धार पनि छैन । स्मरणरहोस् यसले निरन्तर जनक्रान्तिको कार्यदिशा लिएर आफ्नो क्रान्तिको बाटो समाइरहेको छ । उसको जनक्रान्ति अनि दलाल र भ्रष्टहरुका विरुद्ध संघर्ष गरेका कारण यो पार्टीलाई दुई वर्षसम्म तत्कालीन ओली सरकारले प्रतिवन्ध लगायो ।
अहिले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक लाइन फेरेको छ । उसले क्रान्तिको चौतफी मोर्चाभित्र संसदीय मोर्चालाई खासगरी आउने ०८४ को चूनावमा भाग लिने निर्णय गरेको छ । हेरौ– संसदीय दलदलमा नभासिएमा यो कार्यनीतिलाई राम्रो मान्न सकिन्छ, तर यस्तो नहोस् । अहिले नेकपाले माओवादी केन्द्रसँग पार्टी एकीकरण होइन चुनावमा तालमेल गर्ने नीति लिनुपर्छ । चुनावमा केही सिट प्राप्त भएमा पनि त्यो दलाल र भ्रष्टचारीहरुलाई चोटिलो प्रहार हुनेछ । त्यसैले अहिले हतारमा पार्टी एकीकरण होइन चुनावमा तालमेल गरी जान सकिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको अहिले सबैं पार्टीहरुमा देखिएको अन्तरविरोधले ती सबैं पार्टीहरुमा ठूलो धू्रवीकरण हुने अवस्था देखिएको छ । सबैं पार्टीहरुमा धू्रवीकरण भएर बन्ने नयाँ शक्तिको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टीले गर्नुपर्छ । अनि अहिले सबैंभन्दा ठूलो सबाल भनेको राष्ट्रियताको रक्षा गर्न दक्षिणपन्थी तथा प्रतिक्रियावादीलाई हराउनु हो । वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।