‘पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन’

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’ उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।
त्यस्तै उनले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने उनको भनाइ छ ।
देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए ।