कोरोला नाका सोमबारदेखि खुल्ने

२०८२ भाद्र २१ गते, शनिबार

काठमाडौँ । भन्सार विभागका अनुसार मुस्ताङको कोरोला नाका सोमबारदेखि सञ्चालनमा ल्याइने भएको छ। रसुवागढी र तातोपानी नाकाको विकल्पको रुपमा कोरोला खोल्न लागिएको हो। व्यावसायिक रुपमा कोरोला नाका पहिलो पटक खुल्न लागेको हो। यसअघि सिजनल रुपमा मुस्ताङका स्थानीयबासीलाई लक्षित गर्दै उक्त नाका सञ्चालन हुने गरेको थियो। भन्सार विभागले भन्सार प्रणालीका लागि आवश्यक सबै व्यवस्था मिलाइसकेको बताएको छ। ४ जना कर्मचारी खटाइएको छ।
विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले क्वारेन्टाइन बाहेकका सामान सोमबारदेखि भित्रिने बताए। उनले भने, ‘क्वारेन्टाइन बनिसकेको छैन। यसकारण अन्य सामानहरु भित्र्याइने छ। गार्मेन्टजन्य सामान बोकेका केही कन्टेनर कोरोला आइपुगेका छन्।’
कोरोलाबाट लत्ताकपडा, विद्युतीय सामग्रीलगायत सामान भित्रिनेछन्। गाडीहरू भित्र्याउनेबारे यवसायीहरूसँग छलफल भइरहेको भण्डारीले बताए। ‘कोरोलाबाट ल्याउँदा रसुवागढी, तातोपानीभन्दा ढुवानी लागत केही महंगो पर्नेछ। तर सामुन्द्रिक मार्गको भन्दा महँगो पर्दैन,’ उनले भने।
बाढी-पहिरोका कारण रुसुवागढी नाका गत असारको अन्तिम सातादेखि बन्द छ। यसले गर्दा दसैँका लागि ल्याउन लागिएका सयौं कन्टेनर सामान चीनको केरुङमै रोकिएका छन्। अब चीनतर्फ रहेका कन्टेनर कोराला नाका जानेछन्।
कोरोलाबाट नेपालतर्फको बाटो साँघुरो भएकाले मझौला खालका कन्टेनरले सामान ल्याउने छन्। चीनतर्फ भने अत्याधुनिक भन्सार कार्यालयदेखि दुईतर्फी कालोपत्रे सडक बनिसकेको छ।
रसुवागढी र तातोपानी नाका बन्दले आत्तिएका केही व्यवसायीले दसैंका लागि फेन्सी बजारका चिनियाँ मालवस्तु हवाई जहाजमा कार्गो गर्दै र केहीले समुद्रमार्ग भारतको कोलकाता हुँदै ल्याउन सुरु गरिसकेका छन्। तर, यसरी आयात गर्दा ढुवानी लागत बढी परेको छ भने समय पनि बढी लाग्ने देखिएको छ।

प्रतिक्रियाहरु

[anycomment]