जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
मन्त्रालयले निजामती कर्मचारी (सिभिल )अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना, बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको जनाएको छ।
यसैबीच, तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।
अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।