उद्योग वाणिज्य महासंघद्वारा निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान

२०८२ भाद्र २७ गते, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दै देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले चासो देखाएको र यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरेको छ ।
महासंघले देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको बताएको छ । नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चाचालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ ।
सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघको उपस्थिति रहेको स्मरण गराउँदै महासंघले जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यमार्फत करिब ६ लाख साना मझौला एवम् ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्सर्ना गरेको छ ।
महासंघले व्यवसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।
निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ । सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न आग्रह गरिएको छ ।
निषेधाज्ञा एवम् कर्फ्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता गराउन आग्रह गरिएको छ।
यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ । आपूर्ति सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवम् वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ ।
नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास लिइएको छ ।
सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको ठहर छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता सँगै लगानी एवम् रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]