डोनाल्ड ट्रम्प बेलायत पुगे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। ट्रम्प नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार राति बेलायत पुगेको हो।
भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन्। बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए। भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट हुनेछ । राजकीय स्वागतमा राजा चाल्र्स, महारानी क्यामिला, राजकुमार विलियम र क्याथरिन लगायत वरिष्ठ शाही सदस्यहरू सहभागी हुनेछन्।
बेलायत सरकारले यो राजकीय भ्रमणलाई सफ्ट पावर कूटनीतिको रूपमा प्रयोग गर्ने योजना बनाएको छ । यसको मुख्य लक्ष्य अमेरिका जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई सुदृढ गर्नु रहेको छ। भ्रमणको सुरुमै अमेरिकी प्रविधि फर्महरूले बेलायतमा ३१ अर्ब पाउण्डको लगानी गर्ने एउटा प्रमुख सम्झौता घोषणा गरिएको छ, जसमा माइक्रोसफ्टको २२ अर्ब पाउण्ड लगानी पनि समावेश छ। यो लगानीले कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ र आणविक ऊर्जामा सहकार्य गर्नेछ । यसअघि नै गुगलको मूल कम्पनी अल्फाबेटले बेलायतको एआई अनुसन्धानमा ५ अर्ब पाउण्ड लगानीको घोषणा गरिसकेको छ। यसैगरी, अमेरिका र बेलायतबीच आणविक ऊर्जाको विकासलाई तीव्र पार्ने सम्झौतामा पनि हस्ताक्षर हुनेछ । यद्यपि, बेलायती स्टिल निर्यातमा रहेको २५ प्रतिशत अमेरिकी कर हटाउने विषय भने हाललाई स्थगन गरिएको छ।- एजेन्सी