गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने व्यापारीविरुद्ध मुद्दा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गुणस्तरहीन र स्वास्थ्यलाई हानी पुर्याउने खाद्यान्न बिक्री गर्ने चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
कार्यालय प्रमुख विमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन र नमूना परीक्षणका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यापारीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो । तीमध्ये दुई मुद्दा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा, एक जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा र एक मकवानपुर जिल्ला अदालतमा दायर गरिएको छ ।
परीक्षणमा मिसावट, म्याद गुज्रेको सामान बिक्रीलगायतका कैफियत भेटिएका थिए । सो अवधिमा २,०८२ नमूना परीक्षण गर्दा नौ लाख ९५ हजार रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।