रुसको कामचाट्का प्रायद्वीपमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । रूसको पूर्वी कामचाट्का प्रायद्वीपमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । गत साउन दोस्रो सातामा पनि कामचाट्का प्रायद्वीपमै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
शुक्रबार बिहानको भूकम्पको केन्द्रबिन्दु पेत्रोपाभ्लोभ्स्क–काम्चाट्का क्षेत्रको पूर्वतर्फ १२८ किलोमिटर टाढा र समुद्री सतहभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले काम्चाट्का प्रायद्वीप नजिकै थप पाँच वटा पराकम्पन गएको चेतावनी दिएको छ । ती ४० मिनेटभित्रै ५.१ देखि ५.८ म्याग्निच्युडका पराकम्पन थिए ।
रूसको सरकारी भूकम्पीय सेवाको स्थानीय शाखाले भने भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड भएको अनुमान गरेको छ । यसले पनि कम्तीमा पाँच वटा पराकम्पन गएको जनाएको छ ।
काम्चाट्का क्षेत्रका गभर्नर भ्लादिमिर सोलोडोभले उक्त क्षेत्रमा सुनामी चेतावनी जारी भएको पुष्टि गरेका छन् र स्थानीयलाई सचेत गराइएको तर अहिलेसम्म कुनै क्षतिको खबर नभएको बताएका छन् । ‘आज बिहान फेरि पनि काम्चाट्काका बासिन्दाको धैर्यताको परीक्षा लिइँदैछ,’ उनले भनेका छन्, ‘म सबैलाई शान्त रहन आग्रह गर्छु ।’
भूकम्पपछि अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी आउनसक्ने चेतावनी जारी गरेको थियो । यस संस्थाले एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने समुद्री किनारहरूमा सुनामीको लहर आउन सक्ने अनुमान गरेको थियो । तर होनोलुलुमा एक घण्टा लामो प्रारम्भिक मूल्यांकनपछि हवाईका अधिकारीहरूले ‘ध्वंसात्मक खालको सुनामी’ आउने खतरा नरहेको घोषणा गरेका छन् ।