भारतीय दूतावासद्वारा नेपाल यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति देखाउँदै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । नेपालस्थित भारतीय दूतावासले परिस्थिति सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।
दूतावासद्वारा जारी एड्भाइजरीमा भनिएको छ- ‘गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको छ। सडकमार्ग हुँदै आवागमन र उडानहरू नियमित रूपमा चलिरहेका छन् । यद्यपि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिइन्छ।’
भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न सुझाव दिएको छ।