कोदारी राजमार्ग सञ्चालन

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएको छ। यससँगै सो नाकावाट दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।
पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पछाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो । उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएको थियो ।
सडक डिभिजन कार्यालय चरिकोटले बीचबीचमा बाटो खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ झर्ने पहिरोले पछिल्लो समय गत भदौ ८ गतेदेखि ठप्प भएको थियो । बाटो पूर्णरुपमा बन्द हुँदा स्थानीयको आउजाउसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो ।
सडक खुलाउन पटक–पटक पहिरो पन्छाउनुपर्ने हुँदा पहिरोले लेदो बग्ने र जमिन चर्किने गर्नाले पहिरोभन्दा माथिको करिब दुई सय घर धुरी जोखिममा परेका थिए । स्थानीयले समस्याको दीर्घकालीन समाधान नगरी पहिरो नहटाउन भनेपछि बाटो खुलाउने काम रोकिएको थियो ।