वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताबद्ध आन्दोलन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धरान नगर कमिटीद्वारा आयोजित “जेन्जी विद्रोह , नयाँ परिस्थिति र अबको निकास : नेकपाको धारणा” शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियाका वक्ताहरूले अहिलेको असफल शासन व्यवस्थामाथि व्यापक असन्तोष रहेको र यसलाई समाजवादी विकल्पले मात्र सम्बोधन गर्न सक्ने बताएका थिए । सहभागी वक्ताहरूले वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताबद्ध आन्दोलनलाई आगामी दिनमा अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख वक्ता तथा नेकपाका पोलिट ब्युरो सदस्य एवं प्रदेश इन्चार्ज दिपेश राईले अहिलेको जटिल राजनीतिक परिस्थिति, आर्थिक संकट र सामाजिक असमानताका कारण जनतामा असन्तोष चरम रूपमा बढेको उल्लेख गर्दै यसको समाधान समाजवादमै सम्भव रहेको बताए । उनले भने, “भ्रष्टाचार, बेरोजगारी, दलाल–पुँजीवादी शोषण र असमानताले जनजीवन संकटमा छ । यस्ता समस्या मौजुदा व्यवस्थाभित्र समाधान हुँदैनन् । जेन्जीहरूको माग र विद्रोहले पनि देखाएको छ, जनताको वास्तविक निकास समाजवाद हो ।”
नेता दिपेश राईले जनआन्दोलनका मागलाई संस्थागत गर्ने र जेन्जीहरूको विद्रोहलाई सकारात्मक मोड दिने बाटो समाजवादमै रहेको स्पष्ट गरे । उनले समाजवादी मार्ग अपनाउन सकेमात्र भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय, समानता र राष्ट्रिय स्वाधीनता सुनिश्चित हुने धारणा प्रस्तुत गरे ।
अन्य वक्ताहरूले पनि महंगी, रोजगारीको अभाव, शैक्षिक र स्वास्थ्य असमानता, संघीयतापछि समेत जनताले अपेक्षित सुविधा नपाएको जस्ता विषयहरू उठाउँदै सामूहिक आन्दोलनमार्फत मात्र परिवर्तन सम्भव हुने धारणा राखे ।
कार्यक्रममा नेकपाका सुनसरी जिल्ला इन्चार्ज डिवि सी, सेक्रेटरी जीवन सी, समाजवादी लिम्बू मोर्चाका नेता गजेन्द्र पालुङ्हाङ, जनता समाजवादी पार्टी धरान नगर अध्यक्ष नगेन्द्र लिम्बू, माओवादी केन्द्र धरान नगर सहसचिव सुमन गहतराज, सामाजिक अभियन्ता भक्तजङ राई तथा स्थानीय पत्रकारहरुको उपस्थिति थियो ।
सुनसरी जिल्ला इन्चार्ज डिवि सीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै वर्तमान आर्थिक–सामाजिक अन्योलताबाट जनतालाई मुक्ति दिलाउन वैकल्पिक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए ।
कार्यक्रमकाे सञ्चालन नेकपा धरान नगर इन्चार्ज परिता सीले गरेका थिए ।