ओखलढुंगामा ‘जेन–जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न

२०८२ आश्विन १० गते, शुक्रबार


काठमाडौँ । ओखलढुंगामा ‘जेन–जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया भव्य रूपमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीले प्रस्तुत गरेको कार्यपत्रमा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न प्रतिनिधिहरूले टिप्पणी गरेका थिए ।
कार्यपत्रमा नेपाली जनताको बलिदान र ऐतिहासिक विद्रोहका आधारमा बनेको संविधानसभाको विघटन, दोस्रो संविधानसभाबाट आएको संविधानले जनताको मूलआकांक्षा समेट्न नसकेको तथ्य, दलाल संसदीय व्यवस्थाको चरित्र, भ्रष्टाचार र राष्ट्रघातका काण्ड अनि हालसालैको जेन–जि विद्रोहको कारण, उद्देश्य र असफलताको कारणबारे विस्तृत विश्लेषण गरिएको थियो ।
माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य रुपकले सरकारको असफलता नै हालको विद्रोही परिस्थिति सिर्जना हुने मूलकारण भएको उल्लेख गर्दै दलहरूको गैरजिम्मेवार चरित्रले जनतालाई सडकमा धकेलेको बताए । सिद्धिचरण नगरपालिकाका उपमेयर केदार बस्नेतले पनि दलहरूको गलत रवैया र संवेदनहीनताले नै नेपाली जनताको भावनाको विद्रोह जन्माएको भन्दै आफू उपमेयर पदमै भएपनि व्यवस्था र सरकारप्रति चित्त नबुझेको स्पष्ट पारे ।
नेकपा समाजवादी ओखलढुंगाका अध्यक्ष मेघ बहादुर श्रेष्ठले जेन–जि आन्दोलनको माग पूरा गर्दै संविधान पुनर्लेखन अपरिहार्य भएको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष शेर बहादुर खत्रीले जेन–जि विद्रोहलाई उपयुक्त समयमा आएको उपयुक्त कार्यक्रम भन्दै यसलाई असफल हुन नदिनुपर्ने धारणा राखे । जसपा नेपाल ओखलढुंगाका अध्यक्ष प्रकाश तामाङले भने जेन–जि आन्दोलनको भावना अनुसार सरकारले काम नगरे फेरि ठूलो विद्रोह हुने चेतावनी दिए ।
१ नम्नर प्रदेश नामाकरण पुनर्लेखन समिति संयोजक ठगेन्द्र राज राईले आगामी आन्दोलनमा पहिचानका सवाललाई मजबुत ढंगले उठाउनुपर्नेमा जोड दिए । जेन–जि पुस्ताकी प्रतिनिधि सम्झना कटुवालले नयाँ पुस्ताको आक्रोशलाई देश रूपान्तरणको शक्ति बनाउन आवश्यक रहेको धारणा राखिन् । वक्ताहरूका प्रतिक्रियापछि जवाफ दिँदै कार्यपत्र प्रस्तुतकर्ता नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीले व्यवस्थाको असफलता नै जेन–जि विद्रोहको प्रमुख कारण भएको उल्लेख गर्दै संविधान पुनर्लेखन, देशभक्त कम्युनिस्टहरूको एकता र नेपाली विशेषताको समाजवाद अबको अपरिहार्य निकास भएको बताए । उनले यस्ता छलफलहरू देशभरि गर्न आवश्यक रहेको समेत जोड दिए ।
नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा सिद्दिचरण नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता नेकपा ओखलढुंगाका सचिव बोज बहादुर सीले गरेका थिए भने सञ्चालन अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]