ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन

२०८२ आश्विन १० गते, शुक्रबार

काठमाडौँ । बर्दियाका राजनीतिक दलका नेता तथा व्यवसायीहरुले ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको निश्कर्ष निकालेका छन् । नेकपा बर्दियाले जिल्लाको बाँसगढीमा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश राजनीतिक दलका नेता तथा व्यवसायीहरुले ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको निश्कर्ष निकालेका हुन् ।
उनीहरुले नेपालमा भ्रष्टाचार विरुद्धको आन्दोलन नेपालमा ढिलो भएको भन्दै यस्तो आन्दोलन अझै अगाडि नै हुनुपर्ने थियो भनेका छन् ।
नेकपाका बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले जेनजी आन्दोलन भ्रष्टाचार र बेथिति विरुद्धको उत्कर्षको आन्दोलन भएको बताए । उनले ठुला भन्ने दलका नेताहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको ठोकुवा गरे ।
उनले आन्दोलनको एजेण्डा सकारात्मक भएको भएपनि आन्दोलनलाई विदेशीहरुको चलखेलमा उपलब्धीविहिन बनाइएको टिप्पणी गरे ।
नेता हिमशिखरले विचार र गन्तव्यसहितको आन्दोलन नहुँदा फेरी पनि भ्रष्टाचारीहरुले टाउको उठाउने ठाउँ देखिएको आसंका गरे ।
उनले नेपालमा ठुला भन्ने दलका नेताहरुको राजनीति जेनजी आन्दोलनले समाप्त गरेको जिकिर पनि गरे ।
अब नयाँ कम्युनिष्ट केन्द्र बनाएर समाजवादका लागि कम्युनिष्टहरु एक ठाउँमा आउनु पर्ने उनले औल्याउँदै पुराना नेताको ससम्मान विदाई गरी नयाँ विचारसहित युवापंक्तिले नेतृत्व नगरेसम्म निकास नहुने विचार राखे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य बुद्धिसागर अधिकारीले नेपालमा कम्युनिष्टहरु नसच्चिएसम्म कम्युनिष्ट पार्टी बनाएर जान सकिने अवस्था नरहेको टिप्पणी गरे ।
ठुला दलहरुका नेताहरुले भ्रष्टाचार गर्दा जेनजी आन्दोलनले बढारेको जिकिर गरे । नेपालमा कम्युनिष्ट हौ भन्नका लागि रुपान्तरणसहित एकता हुनुपर्ने उनले सुझाव दिए ।
उनले एनजिओ आइएनजिओमार्फत विदेशीहरुको चलखेल र हस्तक्षेप बढिरहेको बताए । नेकपा बहुमतका नेता शक्तिले माओवादी आन्दोलन भन्दा जेनजी आन्दोलनले ठुलो विध्वसं गरेको बताए ।
उनले ठुला दलका नेताहरुको भ्रष्टाचार र बेथितिका कारण नेपालमा जेनजी आन्दोलन भएको बताउदै दलाल व्यवस्थामा परिर्वतनको विकल्प नभएको बताए ।
नेकपा एमालेका जिल्ला लेखा समिति सदस्य बलराम देवकोटाले शासकिय सोच हुनु र पुरानै चिन्तन शैली हुनुले नेपालमा समस्या आएको बताए ।
उनले दलका नेताहरु रुपान्तरण भएनन् भनेर आत्माआलोचना गरेनन् भने अगाडि बढ्न कठिन भएको विचार राखे ।
नेकपा (माओवादी केन्द्र) का नेता राजु शाक्यले पुराना पार्टीका नेताहरु भ्रष्टाचारी हुँदै जाँदा नेपालमा जेनजी विद्रोह जन्मिएको बताए ।
उनले माओवादीबाट समेत जनताको आसा अपेक्षा अनुसार कामहरु हुन नसक्दा जनता निरास भएको टिप्पणी गरे ।
कार्यक्रममा समाजसेवी बुद्धिजीवि एवम उद्योगी व्यवसायी नर बहादुर वलीले नेपालमा राजनीतिक नेतृत्वकै समस्याका कारण समस्या आएको टिप्पणी गरे । उनले हरेक पार्टीमा राम्रा र खराब दुबै प्रवृतिहरु रहेको भन्दै खराबहरुको संख्या बढेका कारण नेपालमा जेनजी आन्दोलनको अवस्थासम्म देश पुगेको धारणा राखे । उनले उद्योग व्यवसासीहरुलाई अझै ढुक्क भएर लगानी गर्ने वातावरण नभएको पनि गुनासो गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बाँसगढीका अध्यक्ष बद्री बरालले देश भ्रष्टाचारले उकुस मुकुस भएको बेला जेनजी विद्रोह हुनै पर्ने अवस्था आएको बताए ।
उनले जहिले पनि आन्दोलन हुने र निजी क्षेत्र धरासय हुने अवस्था भएको भन्दै जेनजी विद्रोहले पनि निजी क्षेत्रलाई ठुलो क्षेति पुर्याएको बताए । उनले कम्युनिष्टहरु नसच्चिएसम्म र एकै ठाउँ नआएसम्म देशको विकास नहुने स्पष्ट पारे ।
कार्यक्रममा राजनैतिक विश्लेषक दिप बहादुर शाही, अखिल(क्रान्तिकारी)का युवा नेता रेशम अधिकारी, वामपन्थी विश्लेषक झपनाथ ढकाल, बामपंथी नेता लक्ष्मण गिरी र जनकलाकार एवं व्यवसायी .संगीतले आ आफ्नो धारणा राख्दै जेनजी विद्रोह नेपालका लागि जरुरी भएको बताएका थिए ।
कार्यक्रममा नेकपा वाँसगढी नगर इन्चार्ज कामना सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।- बसन्त विक

प्रतिक्रियाहरु

[anycomment]