एसिया कप टी-२० : फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ । शाहीनशा अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तान एसीसी टी–२० एसिया कपको उपाधि नजिक पुगेको छ। उसले बंगलादेशलाई ११ रनले हरायो।
उपाधिका लागि पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यही प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्न लागेका हुन्। एउटै समूहमा रहेका यी दुई टीम समुह चरणमा भारतसँग ७ विकेटले पाकिस्तान पराजित भएको थियो। भने सुपर फोरमा पनि भारतले पाकिस्तानलाई ७ विकेटले हरायो।
बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो।
बंगलादेशका लागि शमिम हुसेनले, ३०, र सैफ हसनले १८, रिशाद हुसेनले अविजित १६, नुरुल हसन १६, मेहेदी हसनले ११ र लान्जिम हसन साकिबले १० रन बनाए।
पाकिस्तानका शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान तीन तीन तथा सैम अयुबले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद नवाजले २५, शाहिन शाह अफ्रिदीले १९, फहिम अशरफले १४ र फखर जमानले १३ रन बनाए ।
बंगलादेशका लागि तस्किन अहमदले तीन तथा मेहदी हसन र रिशाद हुसेन समान दुई विकेट लिए।