तीन पार्टीवीच एकीकरण

२०७१ भाद्र २० गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय राजनीतिमा धुव्रीकरण आइरहेको र नयाँ नयाँ पार्टी जन्मने र फुट्ने क्रमसँगै नेपाली राजनीतिमा यतिखेर राष्ट्रिय पुनर्जागरण पार्टी ,नेपाल गणतान्त्रिक जनता पार्टी र गणतान्त्रिक पार्टी नेपालवादवीच संयुक्त पार्टीगत एकीकरण भई गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादको गठन गरिएको छ । नेपालवादी सिद्वान्तलाई आत्मसाथ गर्दै डिवी थापा नेतृत्वको राष्ट्रिय पुनर्जागरण पार्टी ,युवराज सफल नेतृत्वको नेपाल गणतान्त्रिक जनता पार्टी र पिएन सापकोटा महासचिव रहेको गणतान्त्रिक पार्टी नेपालवादवीच एकीकरण भएको हो । विहिवार राजधानी काठमाडौँको जडिबुटीमा आयोजित एक कार्यक्रममा तीनवटै पार्टीको शीर्ष नेताहरुको बैठकपछि पार्टी एकीकरणको निर्णय गरिएको हो ।
एकीकरणमा सामेल डिवी थापा नेतृत्वको राष्ट्रिय पुनर्जागरण पार्टी पहिला तेत्तिस दलीय राष्ट्रिय मोर्चामा आवद्व थियो भने वीचमा चुनावमा भाग लिन दल दर्ता गरेपनि आखिरी घडीमा चुनाव बहिष्कार गरेको गरेको र अहिले तेत्तिस दलीय मोर्चामा समेत जान छोडेको पार्टी हो भने युवराज सफल नेतृत्वको नेपाल गणतान्त्रिक जनता पार्टी आखिरी बेलासम्म चुनाब बहिष्कार आन्दोलनमा सहभागी भएको पार्टी हो ,स्मरणीय रहोस् सो पार्टीका अध्यक्ष युवराज सफल बहिष्कार आन्दोलनमा तेह्र दिन हिरासतमा बसेका व्यक्ति हुन् । पछिल्लो समयमा सफल नेकपा —माओवादी सँग टाढिन पुगेका छन् भने माओवादी रहितको तेत्तिस दलीय राष्ट्रिय मोर्चा बनाउन सक्रिय पुर्वक लागेका छन् । चुनावी प्रयोजनको लागि दल दर्ता समेत नगरेको नेपाल गणतान्त्रिक जनता पार्टी र चुनाबमा जान दल दर्ता गरेको गरी चुनाव बहिष्कार गरेको राष्ट्रिय पुनर्जागरण पार्टी र यसै साल स्थापना भएको गणतान्त्रिक पार्टी नेपालवादको एकीकरणलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
नयाँ शक्तिको बहश र चर्चा चुलिएसँगै हाम्रो वाद नेपालवाद ,नेपालवाद जिन्दावाद भन्ने नाराको साथ गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादको स्थापना गरिएको छ । अबको केही वर्षभित्र नयाँ नीति ,नयाँ कार्यक्रम र नयाँ स्वरुपमा कार्यक्रम लैजाने हो भने पार्टी एकाध वर्षमै देश र जनता सामू स्थापित भएर जाने विश्वास बढेर गएको छ । सो पार्टीमा अहिले विश्व शान्ति अभियान ,मानव बेच विखनविरोधी अभियान ,नेपाल ,देशभक्त युवा संजाल लगायत एक दर्जनभन्दा बढी निकाय समेत सहभागी भएका छन् र हुने क्रममा छन् ।
अहिलेको राष्ट्रिय राजनीतिक घटनालाई नजिकै बाट नियाली रहेको एकीकृत पार्टी गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादले फरक धार र शैलीका साथ वैकल्पिक शक्तिको रुपमा सशक्त भूमिका खेल्न सक्ने विश्लेषकहरुको भनाई रहेको छ । भ्रष्टाचार ,बेरोजगार लगायत अन्य समसामयिक विषयहरुलाई उठान गर्दै अगाडि बढ्न लागेको सो पार्टीले चाँडै देश र जनताको पक्षमा कार्यक्रम ल्याउने सो पार्टीले जनाएको छ । साथै पार्टीले अबको संविधानसभाले जनताको पक्षमा संविधान नबनाउने ठोकूवा गर्दै त्यस्तो असफल संविधानलाई स्वीकार गर्न समेत नसकिने बताएको छ ।
गणातान्त्रिक पुनर्जागरण पार्टी नेपालवादको उदयसँगै आज सक्कली नेपालवादी कि नक्कली नेपालवादी भन्दै विभिन्न तह र तप्कावीच धुव्रीकरण हुने बुझिएको छ । नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्ने उद्घोषका साथ नेपाली नागरिकको सामू आएको गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादले पक्कै पनि नेपालको राष्ट्रियता ,राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्ने अपेक्षा समेत गरिएको छ । त्यस्तै नेपाल र नेपालीलाई सदा अजर र अमर भई बाँच्न सक्ने वातावरणको निर्माण गर्न समेत पार्टी प्रतिवद्व भएर लाग्ने बुझिएको छ ।
सबै नेपालवादी शक्तिहरुलाई एकै ठाउँमा ल्याई नेपालको विकास र समृद्विलाई अगाडि बढाउने उद्वेश्यका साथ स्थापित पार्टीले पार्टी एकीकरण सम्बन्धी घोषणा कार्यक्रम भाद्र २२ गते सोमवार दिउँसो १ बजे रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरी अन्य आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादका सचिव केएन बस्यालले जानकारी दिए । त्यसपछिका अन्य कार्यक्रम भने आपसी समझदारीमा अगाडि बढाउने पनि सचिव बस्यालले बताए । एकीकृत पार्टीमा अध्यक्ष डीवी थापा ,वरिष्ठ उपाध्यक्ष युवराज सफल ,महासचिव पिएन सापकोटा ,उपमहासचिव जेएन घिमिरे र सचिवमा केएन बस्याललाई चयन गरेको छ । यता पार्टीले नेपालवादी सिद्वान्तलाई अपनाउने सबै शक्तिसँग पार्टी प्रवेश ,विलय तथा एकीकरण गर्ने र नेपालवादीहरु वीच मोर्चा बनाई अगाडि बढ्ने निर्णय समेत गरेको पार्टी अध्यक्ष डिवी थापाले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]