उद्योग वाणिज्य महासंघद्वारा बजारमा सामानको अभाव हुन नदिन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन महासंघले आग्रह गरेको हो ।
२ दिनदेखि निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तो समयमा अनधिकृत भण्डारण पनि नगर्न महासंघले आग्रह गरेको छ ।
अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो ।
महासंघले जारी गरेको अपिलमा भनिएको छ- ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ । यसैगरी जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ। ’