सिभिल अस्पतालद्वारा एमआरका व्यावसायिक गतिविधिमा रोक

२०८२ आश्विन २३ गते, बिहीबार


काठमाडौँ । निजामती कर्मचारी अस्पतालले अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि एमआरहरुलाई व्यावसायिक प्रवर्द्धनमा रोक लगाएको छ । अस्पतालले सूचना प्रकाशन गर्दै विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि एमआरहरुलाई व्यावसायिक प्रवर्द्धन सम्बन्धी कुनै पनि गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ ।
अस्पतालले यसअघि नै यस्ता कार्यहरूमा रोक लगाएको भएतापनि पुनः गतिविधि भइरहेको पाइएपछि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा मेडिकल प्रतिनिधिहरूले ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा उपचाररत बिरामीहरूलाई असुविधा भएको जनाएको छ । यसका साथै, अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको अस्पताल प्रशासनले जनाएको छ ।
‘अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरूले आफ्नो कम्पनीको व्यावसायिक प्रवर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउनु हुन भनी यस अघि सूचना प्रकाशन गरिसकेकोमा हाल पनि सो कार्य भइरहेको बुझिन आएको छ,’ सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]