वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

२०८२ आश्विन २६ गते, आईतवार

भ्रष्टचार अन्त्य र सुशानको मागसहित गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहले राजनीतिक उथलपुथल ल्याए पनि यसको नेतृत्व र दिशा अहिलेसम्म अस्पष्ट छ । जेन–जी युवा विद्रोहले ७४ जनाको ज्यान गएको र खर्बौंको क्षति पुगेको छ, जसले तत्कालीन सरकारलाई राजीनामा दिन बाध्य बनायो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै युवाहरुले थालेको आन्दोलनले सत्ता ढालेको थियो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, मन्त्री निवाससहित नेताहरुका घर र पार्टी कार्यालयमा आगजनी भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट समेत भएको थियो । असुरक्षा बढेको भन्दै नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई हेलिकप्टरबाट उद्धार गरेको थियो । आन्दोलनको पहिलो दिन नयाँबानेश्वरस्थित संसद भवन अगाडि १९ जनाको ज्यान गएपछि भोलिपल्ट थप हिंसात्मक बनेको थियो ।

युवा आन्दोलन भदौ २४ गते उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि जेन–जी युवा प्रतिनिधिहरुको समेत सिफारिसमा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नियुक्त भएकी थिइन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते आम निर्वाचन घोषणा गरेका छन् ।

दुई दिनमै राजनीतिमा उथलपुथल ल्याएको नेपालको जेनजी युवा आन्दोलन विश्वमै उदाहरणीय मानिन्छ । तर यसको नेता र गन्तव्य अझै अस्पष्ट छ । जेन–जीका नाममा विभिन्न समूहहरु छन् । अन्तरिम सरकार गठनका बेला पनि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले अलग–अलग समूह र तिनका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । विभिन्न थरी युवाहरुका विभिन्न मत हुँदा सैनिक मुख्यालय अगाडि झडपसमेत भएको थियो । कतिपयले जेन–जी आन्दोलनको नेता काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ठाने पनि उनी खुलेर बाहिर आएका छैनन् । आन्दोलनको बेला बालेनलाई सडकमा आउन युवाहरुले आह्वान गरे पनि उनी आएनन् । बरु ‘हामी नेपाल’ नामको समूहको अगुवाइ गर्दै आएका सुदन गुरुङ एकाएक हाबी देखिए । उनको समेत रोजाइमा सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । तर जेन–जीका केही युवाहरु आन्दोलन हाइज्याक भएको र आपूmहरुका एजेण्डा विपरीत राजनीतिक घटनाक्रम अघि बढेको देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्कीले एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेकी छैनन्, कारण जेन–जी युवाका विभिन्न समूहबीच असहमति छ । यी सबै तथ्यले जेन–जीको आन्दोलन हाइज्याक भएको छ भने जतिसुकै ठुलो आन्दोलन र बलिदानी भएपनि यही संविधान र व्यवस्था रहेसम्म देश र जनताको मुक्ति सम्भव छैन भन्ने पुष्टि भएको छ ।

त्यसकारण, देशमा असफलसिद्ध भइसकेको संविधान र संसदीय व्यवस्थाको बारेमा बहस गर्नुभन्दा वर्तमान संकटबाट देश र जनतालाई मुक्त पार्ने वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा बहस चलाउनु र त्यसतर्फ अगाडि बढ्नु नै वैज्ञानिक र वस्तुवादी हुन जान्छ । तसर्थ, यस्तो अवस्थामा सर्वपक्षीय सरकार गठन गरी देशको वर्तमान राजनीतिक संकटको निकास खोज्नु उपयुक्त हुन्छ । यसैमा देश र जनताको मुक्तिका साथै तमाम दल र नेताहरुको समेत भलाई हुने निश्चित छ । अन्यथा, जनता जाग्ने छन्, जनता जागे के हुन्छ, जनताको नाम भजाएर लुटतन्त्र मच्चाउन पल्किएका व्यक्ति, शक्ति, दल र नेतालाई सम्झाइरहनु नपर्ला ।

प्रतिक्रियाहरु

[anycomment]