‘निर्वाचनका लागि स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन’

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । एक महिनापछि सार्वजनिक भएका देउवाले आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई पार्टीको विधानअनुसार कार्यवाहकको जिम्मा खड्कालाई दिएको घोषणा गरेका हुन् । उनले भने,‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’ उनले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण भने आफ्नो स्वास्थ्य भनेका छन् ।
यसैगरी, सभापति देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्। उनले भने-
‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’