नर्सलाई सरकारी तलब दिन सक्दैनौँ

२०८२ आश्विन २८ गते, मंगलवार

काठमाडौँ । नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सहरूलाई सरकारी सरह तलब दिन नसकिने जनाएको छ। एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै नर्सहरूलाई आफूहरूले सरकारी तलब दिन नसक्ने बताएका हुन्।
प्राडा कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनिएको छ- ‘नेपाल सरकारले दिए सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि गत शुक्रबार कलेज सञ्चालकहरूलाई पत्र निर्देशनात्मक पत्र पठाउँदै चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह पारिश्रमिक दिन भनेको थियो। यसैलाई चुनौती दिँदै निजी मेडिकल तथा डेन्टल कलेजहरूले चुनौती दिँदै आफूहरूले सरकारी सरह पारिश्रमिक दिन नसक्ने बताएका हुन्।
उनीहरुले निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक भएकाले समान पारिश्रमिक लागू गर्न कठिन हुने जिकिर गरेका हुन्।
स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सेवाअन्तर्गत पाँचौँ तहका स्वास्थ्यकर्मीहरूको तलब स्केल ३४ हजार ७३० रहेको छ भने वरिष्ठ पाँचौँ तहका स्वास्थ्यकर्मीको तलब ३७ हजार ७४३ छ। अहिले मणिपाल मेडिकल कलेजका ३ सय नर्सले यही अनुरूपको तलबसुविधा माग गर्दै आन्दोलन गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]