युक्रेनद्वारा रुसको रासायनिक प्लान्टमा क्षेप्यास्त्र हमला

काठमाडौँ । युक्रेनी सेनाले मंगलबार बेलायतमा निर्मित ‘स्टर्म स्याडो’ क्षेप्यास्त्रहरू प्रयोग गरी रुसको एउटा रासायनिक संयन्त्रमा हमला गरेको दाबी गरेको छ । युक्रेनी सेनाको जनरल स्टाफले यो हमलालाई ‘सफल हमला’ बताएको छ । यसले रुसी हवाई रक्षा प्रणालीलाई तोडेको उसले बताएको छ । यो हमला क्षेप्यास्त्र र हवाई हमलाहरूको एक संयुक्त अभियान थियो । यसको नतिजाहरूको मूल्यांकन भइरहेको समाचारमा उल्लेख छ ।
युक्रेनी सेनाले मंगलबार एक्समा एक पोस्ट गर्दै भन्यो, “ब्रायान्स्क केमिकल प्लान्ट, रुसको सैन्य औद्योगिक उत्पादनको एक प्रमुख अड्डा हो । यहाँ बारूद, विस्फोटक र रकेटको इन्धन बनाइन्छ । यसको प्रयोग युक्रेनका सहरहरूमा हुने हमलाहरूमा हुने गरेको युक्रेनले बताएको छ ।
रुसबाट कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, रुसले पश्चिमी देशहरूलाई युक्रेनलाई लामो दूरीसम्म मार हान्नसक्ने हतियारहरू नदिन चेतावनी दिएको थियो । तर, रुसका ती अड्डा तथा स्थानहरूलाई निशाना बनाउनु आवश्यक रहेको युक्रेनले बताएको छ । ‘स्टर्म स्याडो’ क्षेप्यास्त्रहरू बेलायत र फ्रान्सद्वारा संयुक्तरूपमा विकसित गरिएका हुन्, जसको मार गर्ने क्षमता लगभग २५० किलोमिटरसम्म रहेको बताइएको छ । – बीबीसी