बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको घुइँचो

काठमाडौँ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ ।
आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ ।
रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार भाइटीकाको दिन विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुन्छ । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।
यस्तै, काठमाण्डुको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।
२०३५ साल अघि बालगोपालेश्वर मन्दिरमा प्रवेश गर्ने मानिसहरु रानीपोखरीमा हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो । अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्ने गर्दछ ।
२०३५ सालपछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्ने गरेको थियो ।