कच्चा तेलको मूल्यमा उच्च वृद्धि !

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले बढेको छ । आज डब्लूटीआई क्रुडको मूल्य २.३१ प्रतिशत अर्थात १.३५ डलरले बढेर प्रतिब्यारेल ५९.८५ डलर कायम भएको छ । यसैगरी ब्रेन्ट क्रुडको मूल्य पनि २.२८ प्रतिशत अर्थात १.४३ डलरले बढेर प्रतिब्यारेल ६४.०२ डलरमा कारोबार भईरहेको छ । युक्रेन युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न रुस सरकार उदासिन देखिएको भन्दै ट्रम्प प्रशासनले दुई ठूला रुसी कच्चा तेल कम्पनीलाई थप प्रतिबन्ध लगाएसँगै कच्चा तेलको मूल्य बढेको हो । ट्रम्प प्रशासनले यस विषयमा थप कदम चल्न सक्ने समेत जनाइएको छ ।
अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले नयाँ प्रतिबन्धले युक्रेनविरुद्ध युद्ध लड्न क्रेमलिनको आर्थिक स्रोत जुटाउने क्षमतामा कमी ल्याउने दाबी गरेको छ । यो नयाँ प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भलादिमिर पुटिनबीच बुडापेस्टमा भेटवार्ता गराउने योजनासँग सम्बन्धित रहेको समेत उल्लेख गरिएको छ ।
ट्रम्पले भारतलाई रुसी तेल खरिद गर्न बन्द गर्न निरन्तर दबाब दिईरहेका छन् । भारत रुसी कच्चा तेलको शीर्ष खरिदकर्ता हो । यो वर्ष अमेरिकी कच्चा तेलको मूल्य १६ प्रतिशत र ब्रेन्टको मूल्य १४ प्रतिशतले घटेको छ । ट्रम्पको ट्यारिफका कारण आर्थिक गतिविधिमा सुस्तता छाउने आँकलनका साथ विश्व तेल बजारमा भय र चिन्ता देखिएको छ । यसले कच्चा तेलको मागलाई प्रभावित पार्ने जनाइएको छ ।