अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

२०८२ कार्तिक ११ गते, सोमबार


काठमाडौँ । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् ।
अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको आधारभूत सहमति गरेका छन् । यो सहमति दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको चिनियाँ सामानमाथिको १०० प्रतिशत कर (ट्यारिफ) लागू नहुने अपेक्षा गरेको पनि बताएका छन् । यसको बदलामा चीनले अमेरिकासँग पर्याप्त मात्रामा भटमास खरिद पुनः सुरु गर्नेछ ।
विश्वका यी दुई ठुला अर्थतन्त्रहरूबिचको व्यापार युद्धलाई थप बढ्न नदिन दुवै राष्ट्रले प्रयास गरिरहेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दक्षिण कोरियामा बिहीबार वार्ता हुने कार्यक्रम छ ।
एसिया भ्रमणमा रहेका ट्रम्पसमेत सहभागी भएको मलेसियामा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनको साइडलाइनमा बेसेन्टले वरिष्ठ चिनियाँ व्यापार अधिकारीहरूसँग भेट गरेका थिए । बेइजिङले भेटवार्तालाई ‘रचनात्मक’ भएको बताएको छ ।
बेसेन्टले दुई देशले ‘दुई नेताका लागि एक सारभूत ढाँचामा पुगेको’ बताएका छन् । उनले ‘करहरू टर्नेछन्’ भन्ने थप जानकारी पनि दिएका छन् ।
चिनियाँ सरकारले एक विज्ञप्ति जारी गर्दै दुवै वार्ता टोली ‘आआफ्नो सरोकारलाई सम्बोधन गर्नका लागि व्यवस्थामा आधारभूत सहमतिमा पुगेको’ बताएको छ । ‘दुवै पक्ष विशिष्ट विवरणहरूलाई थप अन्तिम रूप दिन सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]