अस्तित्वको अनिवार्यता

२०८२ कार्तिक १४ गते, बिहीबार

सन्तोष सी


विरोधाभासको एउटा पक्षविना अर्को पक्षको कल्पना गर्न सकिदैन। जसरी आधा स्याउ खाइसकेपछि फेरि त्यही सिङ्गै स्याउ हातमा लिन असम्भव हुन्छ, त्यसरी नै जीवन, समाज र विचारको गतिशीलतालाई विरोधाभास विना बुझ्न सकिँदैन। संसारको प्रत्येक वस्तु, प्रत्येक सम्बन्ध र प्रत्येक चेतनामा विरोधाभास लुकेको हुन्छ। विरोधाभास भनेको केवल संघर्ष होइन, त्यो अस्तित्वको धड्कन हो, जसले सृष्टिलाई चलाइराखेको छ।
प्रकृतिमा हेर्ने हो भने विरोधकै कारण सन्तुलन रहन्छ। दिनको अर्थ रातले दिन्छ, अन्धकारको कारण नै प्रकाशको मूल्य छ। यदि केवल उज्यालो मात्र हुन्थ्यो भने उज्यालोको अर्थ हराउँथ्यो। बीउ नष्ट नभए बिरुवा उम्रदैन, मरण नभए जन्म सम्भव हुँदैन। यही चक्र नै प्रकृतिको द्वन्द्वात्मक तालमेल हो। विरोध नै सृष्टिको गति हो, विरोधकै कारण परिवर्तन हुन्छ। स्थिरता मृत्यु हो, गति जीवन हो। यही गति विरोधाभासले सम्भव बनाउँछ।
मानव चेतनामा पनि विरोध निरन्तर चलिरहेको हुन्छ। मानिसको मनमा इच्छा र अनुशासन, प्रेम र घृणा, डर र साहस, स्वार्थ र त्याग निरन्तर संघर्षमा हुन्छन्। यही संघर्षले मानिसलाई सोच्न, निर्णय गर्न र सृजनशील बन्न बाध्य बनाउँछ। यदि मनमा द्वन्द्वै नहुने हो भने मानवीय चेतना मुर्दा बन्छ। प्रश्न उठ्नु, असन्तुष्टि पैदा हुनु, उत्तर खोज्ने प्रयास हुनु — यी सबै चेतनाको गति हुन्। विरोध नभएको मन खाली भाँडो हो, जसले न शब्द फेर्न सक्छ, न अर्थ दिन सक्छ।
समाजमा त विरोध अझ गहिरो रूपमा उपस्थित हुन्छ। समाज वर्गीय संरचनामा आधारित छ, र वर्गीय संरचना आफैंमा विरोधाभासको प्रतिफल हो। एकातिर उत्पीडक छन्, अर्कातिर उत्पीडित। एकातिर मालिक छन्, अर्कातिर मजदुर। एकातिर राज्यशक्ति छ, अर्कातिर जनशक्ति। इतिहासकै गतिलाई हेर्ने हो भने हरेक चरणमा विरोधले नै परिवर्तन ल्याएको छ। सामन्तवादको विरोधबाट पूँजीवाद जन्मियो, पूँजीवादको विरोधबाट समाजवादको बीउ उम्रियो। विरोध नै समाजको इन्जिन हो — जबसम्म यो चलिरहन्छ, समाज जिउँदो रहन्छ।
राजनीति त विरोधको नाङ्गो रूप हो। शासक र विपक्ष, सत्ता र प्रतिपक्ष, यथास्थिति र परिवर्तन — यी सबै एक अर्कासँग द्वन्द्वमा छन्। विरोधले राजनीति लाई तातो बनाउँछ, र यही तापले परिवर्तनको धातु गल्छ। जब विरोधलाई दबाइन्छ, तब विस्फोट हुन्छ। यही कारण हो, हरेक अधिनायकवादी शासन अन्ततः जनआन्दोलनमा भत्किन्छ। विरोधलाई नाश गर्ने होइन, त्यसलाई रूपान्तरण गर्न सक्ने शक्ति नै सच्चा राजनीति हो।
दार्शनिक दृष्टिले हेगेलले विचारमा विरोधाभासको अस्तित्व देखे, र मार्क्सले त्यसलाई वास्तविक समाजमा उतारे। हेगेलका लागि विरोध चेतनाको गति थियो, मार्क्सका लागि त्यो समाजको विकासको नियम। मार्क्सले देखाए कि विरोध नकारात्मक होइन, सकारात्मक शक्ति हो। विरोध समाप्त हुँदा समाज मर्छ। त्यसैले विरोधलाई नष्ट होइन, नियन्त्रित र उत्पादक बनाउनु नै मानवताको प्रगति हो।
स्याउको रूपक यसैको दार्शनिक सार हो। जब आधा स्याउ खाइन्छ, त्यो पुरानै स्याउ रहँदैन। त्यसको रूप, स्वाद, अर्थ सबै परिवर्तन भइसकेका हुन्छन्। त्यसरी नै समय र समाज पनि परिवर्तनशील छन्। पुरानो अवस्था फिर्ता ल्याउने प्रयास व्यर्थ हुन्छ। परिवर्तनलाई रोकिन खोज्नु समयसँग लड्नु हो, जसमा पराजय निश्चित छ। तर त्यस स्याउको बीउबाट अर्को स्याउ जन्मिन सक्छ — यही हो द्वन्द्व र पुनर्जन्मको सौन्दर्य।
जीवनमा पनि विरोध सौन्दर्यको स्रोत हो। यदि सबै कुरा हामीले चाहेजस्तै हुन्थे भने, जीवन नीरस बन्थ्यो। असफलताले सफलताको अर्थ दिन्छ, निराशाले आशाको मूल्य बढाउँछ। दुःखले मानिसलाई गहिरो बनाउँछ, पीडाले कविताको जन्म गराउँछ। कलाकार विरोधकै सन्तान हो। कवि समाजको अन्यायमा वाक्क भएर कलम उठाउँछ, चित्रकार असमानतामा रिसाएर रंग भर्छ। साहित्य विरोधको सुगन्ध हो, जसले समाजलाई आत्मा दिन्छ।
सृजनाको हरेक रूप कुनै न कुनै असन्तुष्ट हृदयबाट जन्मिन्छ। असन्तुष्टि नै चेतनाको बीउ हो। जसको मनमा विरोध छैन, त्यसको लेखनमा गहिराइ हुँदैन। त्यसैले विरोधलाई शत्रु होइन, मित्र ठान्नुपर्छ। त्यसले नै सोच्न सिकाउँछ, जागरूक बनाउँछ, प्रश्न उठाउँछ। प्रश्न उठ्नु भनेको चेतनाको पुनर्जन्म हो।
यस संसारमा केही पनि स्थायी छैन। हरेक कुरा परिवर्तनको क्रममा छ। यही परिवर्तन विरोधाभासबाट जन्मन्छ। आगो र हावा बीचको द्वन्द्वले ज्वाला बनाउँछ। पानी र जमिन बीचको टकरावले नदी जन्माउँछ। पुरुष र नारीबीचको आकर्षण र भिन्नताले जीवन जन्माउँछ। अस्तित्व नै विरोधाभासमा आधारित छ। विरोध नभए अस्तित्व समाप्त हुन्छ।
विरोधलाई बुझ्न नसक्ने मानिसले सधैं भ्रममा बाँच्दछ। ऊ सोच्दछ, स्थिरता नै शान्ति हो। तर स्थिरता भनेको मौन मृत्यु हो। वास्तविक शान्ति द्वन्द्वलाई स्वीकृति दिएर त्यसको सन्तुलनमा भेटिन्छ। मानिसले जब आफ्नो भित्रको विरोध स्वीकार्छ, तब ऊ स्वतन्त्र बन्छ। र जब समाजले आफ्नो विरोधलाई स्वीकार्छ, तब ऊ प्रगतिशील बन्छ।
यसरी हेर्दा विरोधाभासलाई टार्ने होइन, त्यससँग संवाद गर्न सक्ने चेतना आवश्यक छ। आधा स्याउ खाइसकेपछि त्यसलाई सिङ्गो बनाउने होइन, त्यसको बीउ रोपेर नयाँ स्याउ फलाउने सोच चाहिन्छ। यही सोच नै नयाँ युगको बीउ हो। विरोधलाई बुझ्ने, रूपान्तरण गर्ने, र त्यसबाट नयाँ सत्य जन्माउने चेतना नै मानव सभ्यताको सार हो।
जीवन, समाज र विचार — यी सबै विरोधका तरङ्ग हुन्। विरोधकै निरन्तरता जीवन हो। जब विरोध मर्छ, विकास रोकिन्छ। त्यसैले विरोधलाई डर होइन, प्रेरणा मान्नुपर्छ। विरोधले हामीलाई चुनौती दिन्छ, र चुनौतीले हामीलाई सृजनामा धकेल्छ। यही धकेलाइ जीवनको गति हो।
विरोधाभास अन्ततः प्रेमजस्तै हो — त्यसमा टकराव पनि छ, एकता पनि। विरोध एक अर्कामा मिसिन्छ र नयाँ रूप बनाउँछ। यही मिश्रण, यही टकराव, यही पुनर्जन्म नै इतिहास हो। विरोध नै अस्तित्वको आत्मा हो, जसको विना न मान्छे रहन्छ, न समाज, न सृष्टि।

प्रतिक्रियाहरु

[anycomment]