’आत्मरतिमा रमाउने एकताको कुनै अर्थ छैन’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मरतिमा रमाउने एकताको कुनै अर्थ नभएको बताएका छन । गत शनिबार सहिद परिवार तथा नेपाल कम्युनिस्ट पार्टीका नेतृ शिला यादवद्वारा लिखित ‘समरका दिन’ संस्मरण पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले जनयुद्धको घटनामा आधारित उक्त पुस्तकका बारेमा टिप्पणी गर्दै जनयुद्धसहित एकीकृत जनक्रान्तिको घटनाहरुलाई पनि अबको पुस्तकमा समेट्नु पर्ने सुझाब दिए। उनले अजबलाल यादव लगायत सहिदहरुको सपना साकार पार्न र अधुरो क्रान्ति पूरा गर्नका लागि अन्तिमसम्म लड्नुपर्नेमा जोड दिदै अबको क्रान्तिको नेतृत्व पुराना पार्टी र नेताहरुको साथ – समर्थनमा आफुहरुले गर्ने उद्घोष गरे।
यसैगरी, महासचिव विप्लव सीले आत्मरतिमा रमाउने एकताको कुनै अर्थ नभएको बताउदै भने – ’हामीलाई बिचार, भावना, दृष्टिकोण, साधन, संगठन, संस्कार सबलाई एकीकृत गरेर व्यक्त गर्ने नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको हो।बरु त्यसबारे छलफल बहस गरौं ।खाली यहाँ संगठनको हिसाबकिताब गरेर केहि काम छैन ।कतिजना आए ,कति जना गए, उनीहरू को– कहाँ मिसिने हुन् –यो कुनै नेपाली जनताको चासोको बिषय होइन ।चासोको बिषय के छ भने नेपालमा अधुरो रहेको क्रान्ति , धरापमा परेको राष्ट्रिय स्वाधीनता, नेपालमा एकप्रकारले हार्दै गरेको अनुभूति गरिरहेका जनताहरुलाई कसरी हामी विश्वस्त बनाउन सक्छौं, त्यो बहस चाहिएको छ ।त्यसकारण हाम्रो प्रस्ताव के छ भने सर्वप्रथम त सबैले आफूलाइ निश्चित पार्टीको घेरा र सिमाबाट मुक्त गरौं ।पार्टी भनेको कुनै नेता र कार्यकर्तासङ्ग सम्बन्धित कुरा मात्रै पनि त होइन । पार्टी एउटा बर्गसङ्ग सम्बन्धित ,समाजसङ्ग सम्बन्धित, देश र आजको बिश्वसङ्ग सम्बन्धित संस्था पनि त हो।त्यसैले एकताको नाममा कुनै आग्रह पूर्वाग्रह राखेर कसैलाई दोष दिने कुरा पनि होइन ।सुरुमै एउटा धारणा बनाएर एकताको कुरा गर्ने चलन छ।त्यसरी अब संभव छैन । एकता बडो मीठो कुरा पनि हो।तर यो कस्तो भएको छ भने हामीले पहिले एउटा कथा सुन्थ्यौं।गाउँमा एकजना व्यक्ति चोर आयो! चोर आयो! भनेर हल्ला गर्ने अनि सबै गाउँलेहरु भागिसकेपछी उसले गाउँलेहरूको कुखुरा लिएर भाग्ने गरेको थियो।अहिले एकता पनि त्यस्तै भएको छ।यो गजब खालको छ।मिठो कुरा गरेर सबै सम्पत्ति कुम्ल्याइदिने।त्यस्तै एकता– एकता भन्दै फेरि जनतालाई गोलचक्करमा पुर्याउने खतरा पनि छ।एकता राम्रो कुरा हो तर एकताहरु विभिन्न खालका हुन्छन् भन्ने पनि बुझ्नुपर्छ ।
हाम्रा कैयौं साथीहरुलाई एकता मात्रै मन पर्छ।तर संघर्ष मान्छेहरू सुन्न चाहान्नन।तपाई एकता चाहनु हुन्छ भने संघर्ष पनि सङ्गै हुन्छ।तपाईले संघर्षबिनाको एकता खोज्नु भो भने त्यो काल्पनिक कुरा हो, त्यो संभव छैन ।हामीले बिचार दृष्टिकोणको बहस सहितको एकता गर्नुपर्छ ।हामीले सत्य र असत्य, सहि र गलत के हो भन्ने बहससहितको एकता गर्नुपर्छ ।तपाईले एकता मात्रै गर्नु भयो भने या त त्यो काल्पनिक हुन्छ या त्यो फट्याइँ मात्रै हुन्छ ।त्यसैले आज जुन एकताबारे छलफल –बहस चलिरहेको छ, त्यसमा सबैभन्दा पहिले एकताको प्रस्ताव गर्ने हामी नै हौं।नेपालमा कम्युनिस्ट बिचको एकता जरुरी छ तर कसरी ? यसमा बहस छ।
हाम्रो पार्टीको प्रस्ताव के छ भने एउटा कम्युनिस्ट सम्मेलन आयोजना गरौं, कम्युनिस्ट गोलमेच सम्मेलन आयोजना गरौं, त्यहाँ सबै जना आ– आफ्ना कुराहरू राखौं ।त्यहाँ केपी ओली– प्रचण्ड लगायत सबै नेताहरू आउनुहोस् ।तपाईं नेताहरु कम्युनिस्टहरु भन्दा माथी होइन ।तपाईहरु पार्टीको कुनै पनि नेताकार्यकर्ता भन्दा माथि होइन नि! आउनुहोस् सबै नेताहरु र तपाईका कुराहरू भन्नुहोस् त्यहाँ ।केपी ओलीले सोचेको समाजवाद कस्तो हो र त्यो कसरी आउँछ भन्नुहोस् ।प्रचण्ड कमरेडले सोचेको समाजवाद कस्तो हो र त्यो कसरी आउँछ भन्नुहोस् ।त्यहाँ हामीले सोचेको समाजवादबारे हामी पनि भन्छौं ।त्यहाँ नेपालका बुद्धिजीवीहरु, सहिद परिवार र समाजमा योगदान गरेका मान्छेहरु, व्यवसायीहरुलाई बोलाउ ।त्यहाँ बहस गरौं ।हामी त तयारै छौं ।तर कानेखुसी गरेर गर्ने कुरा, उचालेर पछार्ने कुरा , सुरुमै बिभाजित मानसिकताबाट एकताको कुरा गर्ने कुरा,ती त सब असफल भैसकेका छन् ।त्यसप्रकारको एकताको कुनै औचित्य नै छैन ।
नेपालमा कम्युनिस्टहरुले अब एक चोटी समाल्ने हो भने इतिहासका शिक्षाहरुमा उभिएर, इतिहासका अनुभवहरुमा उभिएर बहससहित एकता गर्ने आँट गर्नुपर्छ ।नयाँ दस्तावेज दिने आँट गर्नुपर्छ ।नयाँ दृष्टिकोण, नयाँ संगठन र नयाँ नीति र कार्यक्रम दिने आँट गर्नुपर्छ ।हामीले नयाँ संस्कृति र व्यबहार दिने गरी अगाडि जानुपर्छ ।त्यो हामीलाई मात्रै होईन, आउँदै गरेको नयाँ पुस्तालाई समेत चित्त बुझाउने गरी एकता गर्नुपर्छ ।समाजवाद र एकता त्यसरी मात्रै संभव छ।त्यसैले एकता प्रचार गरेर, औंलाहरु तेस्र्याएर,यताउता गरेर हुने कुरा होइन।
नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा संवेदनशील, गहन र गम्भीर बिषय केहि छ भने त्यो एकताको बिषय नै हो।हामीले राम्रोसँग एकता गर्न सक्यौं भने त्यसले नफुकेका गाँठाहरु फुकाउने छ, असफलतालाई सफलतामा बदल्ने छ र क्रान्तिलाई अगाडि बढाउने छ।यसलाई हामीले ठिक ढंगले बुझ्न सकेनौं भने आजसम्मका हाम्रा उपलब्धी वा अग्रगामी सोचहरु पनि ध्वस्त हुनेवाला छन् ।जसले आफ्नो पार्टी मात्रै ठिक ठान्नुहुन्छ उहाँहरुका लागि यो तितो कुरा हो।तर साँच्चै नै नेपालको राजनीतिलाई गम्भीरतापूर्वक बोध गरेको , मनन गरेको, कम्युनिस्ट मुभमेण्टलाई चिन्ता गरेको ,यसलाई अगाडि लिनुपर्छ भनेर सोचिरहेको नेताकार्यकर्ताको हकमा हो भने हामी त्यसमा ओपन हुनुपर्छ ।अन्यथा ठुलो पहाड फोडेर मुसा निकालेको जस्तो हुनेगरी एकता गर्नुहुँदैन।

यसैगरी, महासचिव विप्लव सीले जेनजी बिद्रोह संसदीय व्यवस्थामा आएको बेथितिको उपज भएको बताउदै भने– ’ती बेथितिहरु गणतन्त्र सुहाउँदा थिएनन् ।गणतन्त्रमा त्यसप्रकारका व्यबहार कम्युनिस्टहरुमा देखिनु त्यो जनअपेक्षा बिपरित थियो।त्यसमा पनि माओवादीहरु, जो रगत र पसिनाले लत्पतिएर आएका थिए, उनीहरुबाट यस्तो हुन्छ भन्ने कुरा कल्पना नै गरिएको थिएन।गणतन्त्रमा हामीले गर्नुपर्ने के थियो, हाम्रो जिम्मेवारी के थियो,गणतन्त्रको आर्थिक प्रणाली र सांस्कृतिक आचरण के हुनुपथ्र्यो,के जनताले यस्तै सोचेका हुन् ? अनि अरुलाई दोष दिएर हामी मुक्त हुन सक्छौं ?हुनसक्छ बिरोधीले त मौका पाएपछि दुरुपयोग गर्नसक्छ।त्यो ठूलो कुरा होइन,निर्णायक कुरा त हाम्रो आफ्नै कुरा हो नि। यी सबै बिषयलाई जोडेर हेर्यौँ भने मलाई लाग्छ हामीले कहिल्यै अनुभव नगरेको भ्रष्टाचार नेपालमा भयो।यति ठुला ठुला अर्बौंका भ्रष्टाचार काण्डहरु भए।हामी जनताको करबाट उठाएको पैसा निश्चित मान्छेहरुले लुटपाट गरे।यो दुरुपयोग मात्रै थिएन,लुटपाट नै भयो।हाकाहाकी दश करोड पर्ने कुरालाई बीस करोड बनाएर खाने यो हाम्रै आँखा अगाडि भएको होइन ? हेर्दाहेर्दै शहरमा महल ठडिएनन् ? हेर्दाहेर्दै मान्छेहरु अर्बपती भएनन् ? हेर्दाहेर्दै उनीहरु बिदेशी बैंकमा पैसा लुकाउने भएनन् ? यी कुराहरु कम्युनिस्ट आन्दोलन वा माओवादी जनयुद्धसङ्ग मेल खाने खालका कुराहरू थिएनन् । यो कसले गर्यो, कसले गरेन छोड्नुहोस, त्यो कुरा तर जनताले आफ्नै आँखा अगाडि देखेको छ नि! त्यसैले माओले जनता भनेको सुक्ष्मदर्शक यन्त्र हुन् भन्नु भएको थियो।जनता दुरदर्शक यन्त्र पनि हुन् ।त्यसैले माओले माक्र्सवाद भनेको दुरदर्शक यन्त्र हो भने जनता भनेका सुक्ष्मदर्शक यन्त्र हुन् भन्नु भएको हो।जति नै लुकाउन खोजे पनि के जनताले देख्दैन? वल्लो घर, पल्लो घर, छिमेकी, साथीभाइहरुले देख्दैन– कसले के गरिरहेको छ भन्ने कुरा ! अनि मलाई बेकारमा भनेका हुन् भनेर अरुलाई सरापेर हुन्छ?’
यसैगरी, महासचिव विप्लव सीले सन् १९५०को असमान सन्धीको बिरोध गर्ने माओवादीले दिन दाहाडै एमसीसी सम्झौता किन गर्यो भन्ने प्रश्न गर्दै भने– ’अलिकति यताउता भएर मात्रै हो, उहाँहरु एसपीपी गर्न तयार भएको होइन र ? अनि त्यसपछि हामीले राष्ट्रघाती कसलाई भन्ने? राष्ट्रघाती सम्झौताको बिरोध त हामी युवा हुँदादेखि अर्थात २०४५ सालदेखि गर्दै आएका हौं ।त्यसैले अहिले जेनजी बिद्रोह अनिवार्य थियो।यद्यपि यो हाम्रो नेतृत्वमा होस् भन्ने हाम्रो चाहना थियो।हामी जनतालाई भन्न चाहान्थ्यौँ त्यसको कमाण्ड हामी गर्छौं ।हामी त्यसरी नै अगाडि बढिरहेका थियौं ।एनसेलमा ७२ अर्ब घोटाला हुँदाखेरी किन बोलेनन् नेताहरू ? आज पनि उहाँहरु किन बोल्नुहुन्न? एनसेल प्रकरणमा किन काङ्ग्रेस बोल्दैन ? किन एमाले बोल्दैन ? किन माओवादी बोल्दैन ? त्यो हिसाब मिलिसकेको हो कि? या उसलाई माफी दिइएको हो की, असुल गरिसकेको हो की यसबारे उहाँहरु किन बोल्नुहुन्न? गिरिबन्धु , ललिता निवास, व्ह्वाटबडी देखि पोखरा बिमानस्थलको कुरा के हो ? यी हल्ला मात्रै हुन की वास्तविकताहरु हुन ? त्यसैले जेनजी बिद्रोह त हुनु नै थियो। मान्छे मारिएको फैसला हुन पाएको छैन, बेपत्ता नागरिकको सोधखोज भएको छैन, पुरै लुटपाट र देशलाई बेथितितिर धकेल्न मिल्छ ?यसको परिणाम त हामीले भोग्नैपथ्र्यो।सहिदहरुको बारेमा कुनै फैसला छैन ।उनीहरुका परिवारहरु रुँदै हिडेका छन् ।यी सबै कुरा हेर्दा वास्तवमा राज्यसत्ता र जनताबीचको अन्तरबिरोध बिस्फोट भएको हो भन्ने कुरालाई बुझ्न जरुरी छ।विस्फोट जेनजी बिद्रोहको रूपमा भएको हो।तर जेनजी बिद्रोह एकप्रकारले भन्दा असफल पनि भैसक्यो।’
यसैगरी, महासचिव विप्लव सीले माओवादी जनयुद्ध भन्दा डरलाग्दो प्रकारले जेनजी बिद्रोह असफल भएको ठोकुवा गर्दै भने –’कमसेकम माओवादी जनयुद्धको क्रममा हामीले ठुल्ठुला कठिनाइ र तिक्तता भोग्नु परे पनि गणतन्त्र त हाम्रो अगाडि छ ! महिला, दलित, जनजाति, मधेशी लगायत उत्पीडित क्षेत्रले केहि अधिकार र जागरण त पाएका छन् नि!तर अहिले त दश बर्षमा नभएको क्षति दुई दिनमा भयो।दुई दिनमा भएको भौतिक क्षति हेर्नु भयो भने त्यो जनयुद्धको भन्दा सयौं गुणा बढी भएको मूल्यांकन छ।तर त्यसको परिणाम हेर्नु भयो भने त के शुसिला जी को सरकार बन्नु नै उपलब्धि हो त? यो सरकार कसरी आयो – मन्त्रीहरु कसरी आइरहेका छन् ? कसले पठाइराखेको छ? नेपालमा त अहिले एउटा बहस नै चलिराखेको देखिन्छ।मन्त्री बनाउनेमा पनि नाटक जस्तै लाग्छ, एकछिन हल्ला हुन्छ, अनि त्यसपछि नाम काट्छन।ए ! यो त बिदेशी नागरिक पो रहेछ भनेर फर्काउछ्न।फेरि नाम काट्छन।नेपाली जनताको उपहास गरेको होइन यो।यस्ता मान्छेको तल बस्नुपर्ने हामी? यी को हुन् ? कसरी आए यी? त्यो कुराको पुष्टि हुनुपर्दैन ।’
यसैगरी, महासचिव विप्लव सीले बर्षौदेखि लड्ने नेकपाको बारेमा उनीहरुलाई थाहा छ कि छैन ? भन्ने प्रश्न गर्दै भने– ’राजनीतिक निकासको बारेमा सोच्नुपर्छ की पर्दैन ? अहिलेसम्म साथीहरु जेलमै हुनुहुन्छ एनसेलको विरुद्ध लडेको कारणले।मानव तस्कर र जग्गा तस्करलाई हानेको कारणले ।अहिले आएकाहरु को हुन् ? यीनले नेपालका लागि केही गरेका छन् ? यिनिहरु त कोहि अर्बौं सार्वजनिक सम्पत्ति दुरुपयोगका दोषी छन् ।कोही मान्छेहरू नेपालको अर्थतन्त्र टाट पल्टाउने नीतिहरु बनाएर देशलाई यो अवस्थामा पुर्याउनेमा संलग्न थिए।कोहि मान्छेहरू जासुसको रूपमा काम गरिरहेका देखिन्छन् ।कोहि एनजीओका एजेण्टको रूपमा बदनाम थिए।अनि उनीहरूले देशलाई निकासतिर लैजान सक्छन् ? त्यसैले जेनजी बिद्रोह असफल हुन पुगेको हो। तर बिद्रोहले राजनीतिक दृष्टिले अहिलेको यो संसदीय व्यवस्था नेपालमा सफल हुन सक्दैन भन्ने कुरालाई स्थापित गरिदिएको छ ।यो कुरा त सत्य हो ।यो व्यवस्था अगाडि जाँदैन भन्ने कुरा त सब जनताले बुझ्न पाए नि।यो राम्रो कुरा हो।संसदीय व्यवस्थाबाट समाज अगाडि जान सक्तैन भन्ने जागरण र चेतना पनि नेपाली जनतामा पैदा भएको छ।त्यसैले बिद्रोह पछि नेपाल नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ।साथसाथै अहिले तपाईं हामी जे बोलिरहेका छौं, महिला ,दलित, जनजाति, मधेसी लगायत श्रमजीवी वर्गले जुन रूपमा आफ्ना पीडा र माग राखिरहेको छ, त्यसले पनि अब संसदीय व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था चाहिन्छ भन्ने कुरालाई नै स्पष्ट गरेको छ।यी कुराहरुको जवाफ पुँजीवादले दिन सक्दैन ।’
यसैगरी, महासचिव विप्लव सीले अहिले १ प्रतिशत मानिसहरूको हातमा ४ अर्ब मानिसको भन्दा बढी सम्पत्ति केन्द्रित भएको बताउदै भने– ’अहिलेको बिज्ञान र प्रबिधिमाथी पुजीपती बर्गको नियन्त्रण कायम गर्दै यसप्रकारको आर्थिक असमानताको स्थिति पैदा भएको देखिन्छ।सर्वसाधारण जनता त न्यूनतम सेवा सुबिधाबाट समेत धेरै टाढा हुने स्थिति पैदा भएको छ।हिजो आफ्नो वल्लो घर, पल्लो घरमा साटपैचो गरेर खाने नेपाली जनता आज बित्तीय र प्राविधिक अर्थतन्त्रको चपेटामा परेर सास फेर्न पनि नसक्ने स्थिति आएको छ।त्यसैले समाज यो ठाउँमा पुगेको छ र त्यसको प्रभाव नेपालमा पनि परेको छ। त्यसैले आज समाजमा उठेका गुनासा र प्रश्नहरू, हामीसङ्ग र जनतासङ्ग , सबैतिर फर्केर हेर्नु भयो भने यो समाजवादसङ्ग सम्बन्धित हुँदा नै यसको समाधान हुनेछ।यसबारे यहाँका दल र तिनका नेताहरूले बोल्न सक्नु पथ्र्यो।खै उहाँहरुले बोलेको?तर सबै पार्टी र नेताहरु एउटै छन् भन्ने पनि होइन ।देश र जनताका मुद्दामा लड्ने पार्टी र नेताहरू पनि छन् भन्ने कुरालाई नेपाली जनताले बुझ्नुपर्छ ।यो कुरा हामीले जनतालाई भन्नैपर्छ।जसरी अहिले नेपालका सबै पार्टीहरुभित्र बहसहरु छन् , ती बहस सबै एउटै होइनन् ।एमालेभित्र बहस गर्ने सबै नेताहरू एउटै होइनन् ।माओवादीभित्र बहस गर्ने नेताहरू सबै एउटै होइनन् ।नेकपाभित्र, हाम्रो पार्टी भित्र, बहस गर्ने नेताहरू पनि सबै एउटै होइनन् ।त्यहाँ दुख गर्ने पनि हुन्छन्, त्यहाँ ठग पनि हुन्छ्न।त्यहाँ साच्चै इमानदार पनि हुन्छन् र झुट मान्छे पनि हुन्छन् ।यो सबैतिर हुन्छ, यो नियम हो।त्यसकारण हामीले सबै पार्टी र उनीहरूभित्रका सबै बहस एउटै हुन् भन्ने ढङ्गले लिनु हुँदैन ।त्यसो भन्यौं भने जनता भ्रममा पर्छन् ।नेपालमा लडाइँ चलिरहेको छ। जनताको प्रतिनिधित्व गर्ने शक्तिहरु पनि छन् उनीहरू घरघरमा छन् , समाज र पार्टीहरुमा पनि छन् , त्यो शक्ति सुसंगठित ढङ्गले हाबी भैसकेको छैन ।तर त्यो इमर्जिङ शक्तिको रूपमा अगाडि बढिरहेको छ।त्यसलाई कहिँ पनि हामीले न्यूनीकरण गर्नु हुँदैन, संरक्षण गर्नुपर्छ।’
