वर्तमान नेपालका पार्टी एकता र फुटका सम्बन्धमा
नेपाली राजनीतिमा अहिले पार्टीहरु, खासगरी कम्युनिस्ट नामधारी पार्टीहरु फुट्ने र जुट्नेको होडबाजी नै चलेको छ । एकता र फुटको बीचमा द्वन्द्वात्मक अन्तरसम्बन्ध रहेको हुन्छ । यी दुई विपरीत प्रवर्गहरुको अस्तित्व नै एक अर्कोमा अन्तरनिहित पनि छ । भन्नुको तात्पर्य एकता हुनलाई फुट भएकै हुनुपर्ने र फुटको अस्तित्व हुनलाई एकता हुनै पर्ने हुन्छ । द्वन्द्ववादमा जसरी तलको अस्तित्व वा अर्थ नभए माथिको अस्तित्व र अर्थ हुँदैन, त्यसरी नै एकता र फुटको पनि अस्तित्व वा अर्थ-औचित्य पनि आपसमा विपरीतजस्ता देखिए पनि अभिन्न रुपले गाँसिएका छन् । अर्को शब्दमा भन्नुपर्दा जहाँ जन्म हुन्छ, त्यहाँ मृत्यु अनिवार्य हुन्छ र जहाँ मृत्यु हुन्छ त्यहाँ जन्म हुन्छ, हुन्छ । यस्ता दुई विपरीत प्रवर्गहरुमा द्वन्द्वात्मक सम्बन्ध त हुन्छ नै, संगसंगै यी एकले अर्कालाई प्रभाव पार्छन्, परिवर्तन गर्छन्, निषेध पनि गर्छन् र एक अर्कोमा रुपान्तरण समेत हुन्छन् ।
प्रकृतिमा रहेको यो सत्यलाई ग्रीक दार्शनिक हेरेक्लाइटिसले सर्वप्रथम यसरी संकेत गरेको पाइन्छ –
Everything is constantly changing and that all things consisting of two opposite elements which changed into each other as night changes into day, light into darkness, life into death etc.
सामान्यतया जन्म हुँदा हर्ष लागेझैं, दिन आउँदा रमाइलो भएझैं पार्टी एकता हुँदा पनि हर्ष नै लाग्दछ र मान्छेको मृत्यु हुँदा दुख लागेझैं वा रात पर्दा नरमाइलो लागेझैं पार्टी फुट हुँदा दुख लाग्नु स्वाभावीक कुरा हो । तर विपरीतता र विशिष्टतामा हेर्दा यसको उल्टो अनुभूति पनि हुन्छ र हुनै पर्छ । कुनै असल मानिसको मृत्यु हुँदा दुख अवश्य लाग्छ र लाग्नुपर्दछ भने कुनै दुष्ट मान्छेको मृत्यु हुँदा सुख लाग्छ र लाग्नु नै पर्छ । यसमा दृष्टिकोणले काम गरेको हुन्छ । त्यसरी नै खराब पार्टी फुट्दा कुचोले बढार्नुपर्ने कसिङ्गर हवाले उडाइदिएर हाइसन्चो भएझै पनि हुन्छ तर एउटा राम्रो पार्टी जो देस, जनता, मानवजाती, प्रकृती र क्रान्तिको संरक्षण र सम्बर्द्धनको लागि संघर्ष गरिरहेको हुन्छ, त्यो फुट्दा क्रान्तिकारीहरुलाई दुख लाग्नु स्वाभाविक हुन्छ । यसरी नै कुनै फुट वा एकतालाई यसको द्वन्द्वात्मकता र विपरीततामा हेर्दा परिणाम वा अनुभूतिहरु पनि विपरीत देखिन्छन् । कुनै एउटा पार्टी फुट्यो भने सामान्यतया त्यहां दुखानुभूती हुन्छ भने त्यही फुटेका पार्टी एउटा वा दुवै अर्को कुनै भिन्न-भिन्न पार्टीमा गएर जुटे भने त्यहाँ सुखानुभूती हुन्छ । त्यो फुट एकातामा बदलिंदा फुटको बेलाको दुख एकताको बेला वा प्रकृयामा हर्षमा बदलिन्छ । यसलाई डाइलेक्टिक्स अफ नेचर नामक आफ्नो कृतिमा एङ्गेल्सले रुपान्तरणको रुपमा गर्नुभएको व्याख्याको रुपमा बुझ्न सकिन्छ र यसरीनै बुझ्नुपर्छ । यसबारे गुगलमा भनिएको छ – One “law” proposed in the Dialectics of Nature is the “law of the transformation of quantity into quality and vice versa”. Probably the most commonly cited example of this is the change of water from a liquid to a gas, by increasing its temperature. यसरी स्पष्ट हुन्छ कि एकता फुटमा र फुट एकतामा बदलिने अर्थात् रुपान्तरण हुने यो नियमित प्रकृया हो । जसरी पानीलाई उमाल्दा बाफ बन्छ र बाफलाई चिस्याउँदा पानी बन्छ र अझ धेरै चिस्यायो भने बरफ पनि बन्छ । त्यसरी नै सचेत, सुनियोजित र सशक्त प्रयास गरे कुनै पार्टीमा शीघ्रता र तीव्र रूपमा फुट वा एकता हुन्छ । तर कुनै खास क्षणमा पार्टीहरु फुट्नु वा जुट्नुमा न विस्मात न त हर्ष हुने विशेष अवस्था पनि आउँदो रहेछ । सायद यो अपवाद पनि होला, दृष्टि दोष पनि होला । अहिले नेपालमा केही पार्टीहरुको जुन रुपमा फुट र जुटको प्रकृया चलेको छ, सामान्यतया वा भनौं सारमा यी फुट र जुटको कुनै अर्थ, महत्व र हर्षानुभूती वा दुखानुभूती छैन । किनकी प्रायः त्यहाँ विचार, राजनीती, कार्यदिशा, कार्यक्रम, लक्ष, ध्येय र तिनको सही ढङ्गले अवलम्बन र कार्यान्वयनमा कुनै खास अन्तर छैन । ती फुट र जुटहरुमा केही सिमित सकारात्मक अंश र पक्ष भए पनि सार र समग्रमा हेर्दा तिनमा व्यक्तिगत, पारिवारिक र गुटगत संकीर्णता र क्षुद्र स्वार्थ हावी भएको छर्लङ्ग नै छ । यो अवस्थामा वा यो हिसाबले पार्टीहरु फुट्नु र जुट्नुको के अर्थ हुन्छ र ? अझ ठोसमा भन्ने हो भने अहिले कठपुतली सरकार अमान्य समेत भैरहेको सन्दर्भमा उसले गराउने चुनाव राष्ट्रिय रुपमै अस्वीकार्य हुने मात्र होइन, चुनाव नै हुने-नहुने निश्चित नभएको अवस्थाको प्रायोजित चुनावलाई नजिकिएको देखेर-देखाएर पार्टी दर्ता वा नवीकरणको अवधी छोटिइरहेको भन्दै हतारिएर यो एकता र फुटको प्रकृयाले तीव्रता र व्यापकता पाएको छ । क्रान्तिकारी र देसभक्त तथा सच्चा कम्युनिष्टहरुका दृष्टिमा यी चुनावी सन्दर्भका व्यक्तिगत महत्वाकांक्षा र पदप्रतिष्ठालाई केन्द्रमा राखेर भए-गरेका फुट र एकताका शृङ्खलाहरु नेपाल र नेपाली शोषित-पीडित जनताको लागि कौवालाई बेल पाकेर हर्ष न बिस्मातको अवस्थाझैं नै हो ।
MCC संझौता र खुकुलो नागरिकता विधेयकजस्ता अन्य थुप्रै राष्ट्रघाती बिलहरु पास गर्ने र भ्रष्टाचार र अनियमिततालाई पराकाष्ठामा पुराएर जनतालाई अस्तित्वरक्षाको संकटमा धकेल्ने यी पार्टी र नेताहरुबिचको एकता त झन् खतरनाक हुन्न्छ । यी भ्रष्ट, दलाल र गद्दार नेताहरु वैदेशिक शक्तिकेन्द्रको दलाली र चाकरी गर्दै उनीहरुकै जुठोकलोको आस र त्रासमा बाँच्छन् । यी आत्मसमर्पणवादी दलाल तथा नोकरशाही पुँजीपतिवर्गका पार्टी, नेता र प्रतिनिधिहरु राज्यसत्ताको पावर दुरुपयोग गरेर, जालझेल र छलकपट गरेर, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहारुको सुनियोजित चालवाजी र लगानी अनुसार चलेर अनि निर्वाचनमा पैसाको खोलो बगाएर चुनाव लड्ने र जित्ने गर्छन् । त्यो अवस्थामा यिनले जितेर त वैदेशिक शक्तिकेन्द्र र भ्रष्ट, दलाल तथा नोकरशाही पुँजीपती वर्गकै हित गर्ने सुनिश्चित छ । यो पुँजीवादी व्यवस्था र प्रत्यक्ष निर्वाचन प्रणालीमा स्वच्छ, इमान्दार, गरिब किसान, मजदुर, दलित महिलाजस्ता पार्टी, वर्ग र समुदायले चुनावमा भाग लिएर जित्न र जितेर पनि सरकारमा गएर देस र जनताका लागि केही खास गर्ने सम्भावना नै हुँदैन । त्यसैले यस्तो व्यवस्था अन्तर्गतको सरकारमा जाने उद्देश्यले चुनावमा जानुको कुनै तुक छैन । यो कुरा सामान्य बहुमतको मात्र होइन दुइतिहाई मतका सरकारहरुले पनि जनता र देसको हकहित र उन्नती-प्रगतिको लागि केही गर्न नसकेको बरु बारबार साम्राज्यवादी-विस्तारवादीहरुको स्वार्थानुसार चलेको, दलाल तथा नोकरशाहहरुको सुझाव र दवावमा परेको, तस्कर र माफियाहरुको चंगुलमा फसेको वा पैसा र पदको प्रभाव र प्रलोभनमा परेर भ्रष्ट भएको र निकम्मा साबित भै ढालिएका र फालिएका छन् । त्यसैले नेपालको हालको दलाल तथा नोकरशाही पुँजीपती वर्गको प्रतिक्रियावादी व्यवस्थाअन्तर्गतको सरकारमा भाग लिनै हुँदैन ! तर प्रतिक्रियावादी सत्ताअन्तर्गत हुने चुनावमै भाग लिनु हुँदैन भन्ने कुरा चाहिँ सैद्धान्तिक रुपले सही होइन । किनकि चुनावको प्रश्न कार्यनीतिको प्रश्न हो । उपयोग वा बहिष्कार जे गर्दा पार्टी, क्रान्ति, देस र जनताको हित हुन्छ, त्यही गर्न सकिन्छ र गर्नुपर्दछ । चुनावका बेलामा जनतामा पार्टी र उमेदवारका योजना, नीति र कार्यक्रम सुन्ने, जान्ने, गुन्ने र छान्ने मनोविज्ञान बनेको हुन्छ । जनतालाई आफ्नो संघर्ष र बलिदानबाट प्राप्त मताधिकारको प्रयोग गर्ने इच्छा हुन्छ । उमेदवार र प्रचार टोलीका बोलीबचन, अनुशासन, शीलस्वभाव र बानीव्यवहार हेरेर चिन्ने र सही पार्टी र नेता-उमेदवार बिन्ने अवसर प्राप्त हुन्छ । साथै चुनावका कुरा सुन्न र भोट हाल्न नगएमा उमेदवार, पार्टी, आफन्त र छरछिमेकी रिसाउलान् र भोलि आफूलाई केही पर्दा बोल्दिने र सहयोग गर्दिने कोही नहोलान् कि भन्ने भय समेत रहेको हुन्छ कि त कुनै भरपर्दो वैकल्पिक शक्ति हुनुपर्यो कि भने दुखकष्ट, त्यागबलिदान गर्नसक्ने उच्च चेतना र साहस हुमुपर्यो नत्र त यो अवस्था रहन्छ नै । यसका साथै आफूकहाँ भोट माग्न आउनेमध्येमा मन परेकालाई मत दिनु धर्म (कर्तव्य ) भएकाले भोट दिनुपर्छ भन्ने संस्कार जनतामा भएकाले समेत चुनाव जनतामा जाने उनीहरुलाई चिन्ने, उनीहरुका सामूहिक र व्यक्तिगत सुखदुख बुझ्ने, समस्या र व्यथाकथा सुन्ने र जनतासँग सम्पर्क-सम्बध बढाउने एउटा माध्यम र माहोल पनि हो । यसरी नै संघीय वा प्रादेशिक जनप्रतिनिधिसभामा जनता र राष्ट्रका आवाज, आवाज विहीनहरुका आवाज र शोषित-पीडित खासगरी किसान-मजदुरका आवाज, समस्या, कथाव्यथा र तिनको समाधानका कुरा उठाउन र देसविदेसभर सुनाउन सकिने अवसर र सम्भावना हुन्छ । यो हुनु भनेको सानो र नयाँ पार्टी र नेतृत्व अनि कमजोर र थोरै नेता-कार्यकर्ता र जनसमर्थन भएका तथा प्रभावकारी संघर्ष र चोटिलो एक्सन गर्न नसकेका शक्तिलाई संगठन विस्तार र सुदृढ गर्ने, परिचित र स्थापित हुने अनि सबल र सक्षम बन्ने राम्रो वातावरण पनि हो । तर प्रतिक्रियावादी सत्ताअन्तर्गतको केन्द्रीय वा प्रदेश सरकारमा जाने कुरा राम्रो केही गर्नेभन्दा पनि विकृती, विसङ्गती, बेइमानी, बदमासी, विचलन, विघटन र विसर्जनको कारक हुन्छ भन्ने कुरा नेपाल र विश्वका कैयौं अनुभवहरुबाट पुष्टि भएकोले त्यसप्रति भने विशेष सतर्क हुनु जरुरी हुन्छ । यही सतर्कता स्वरुप मिलेराँवादको विरोध हुँदै आएको हो तर पनि यो रोगले विश्वकम्युनिष्ट आन्दोलनलाई भस्म गर्दै गैरहेको दुखद विडम्बना छ ।
जे होस् प्रतिकृयावादी व्यवस्था अन्तर्गतको सरकारमा सामेल हुने र देस र जनताको लागि सुख-सम्बृद्धिको लागि के केनै गर्ने भन्ने दिवा सपना बाँडेर पार्टी एकता गर्नु जनता-कार्यकर्तालाई धोका दिनु हो भने टाउके नेताहरुलाई पदप्रतिष्ठा र पैसारुपी पोका दिनु हो ।
जहाँसम्म क्रान्तिकारी आन्दोलनलाई विस्तार र विकास गरेर उत्कर्ष र निष्कर्षमा पुराई देस र जनता हुँदै सारा विश्व र मानवजातीलाई न्याय, समानता, स्वतन्त्रतासहित पूर्ण मुक्ती, प्रगती र समृद्धी दिलाउने उद्देश्यले आज देस-विदेसमा विभाजित र विखरित कम्युनिस्ट पार्टी-समूह, संघ-संस्था, मंच-मोर्चा, अभियान-आन्दोलन र अझ व्यक्ती-व्यक्तिहरुलाई समेत एकताबद्ध र मोर्चाबद्ध गर्ने कुरा छ, त्यो अत्यन्त महत्वपूर्ण कुरा हो जो आजको सन्दर्भमा अत्यावश्यक छ । यो महत्व बुझ्नु र यो आवश्यकता पूरा गर्न पहल गर्नु सच्चा र जिम्मेवार पार्टी र नेतृत्वको अहं दायित्व हो जो सराहनीय र स्तुत्य नै छ । हामीले यसै दिशामा लामो समयदेखी हाम्रो पहल जारी राखेका छौं । यसकुरामा केही सफलता पनि मिल्दै गैरहेको छ । पछिल्लो पहलकदमीको जो संकेत मिलेको छ, त्यस्ले यो प्रकृयालाई गुणात्मक रुपले उल्लेखनीय प्रभाव र परिणाम दिनेछ भन्ने आशा पलाएको छ । हामी सबै क्रान्तिकारी कम्युनिस्टहरुले यसप्रकारको क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको एकीकरण, ध्रुवीकरण र मोर्चाबन्धनको प्रकृयालाई पूर्णता दिलाउँदै क्रान्तिलाई अघि बढाउनको लागि अत्यन्त गम्भीर र जिम्मेवार भएर आआफ्ना ठाउँबाट संघर्ष गर्नु-गराउनु अहिले हाम्रो देस, जनता र क्रान्तिप्रतिको अहं अभिभारा हो । यस प्रकृयामा पार्टी-समूह र संघसंस्था आदिमा भैरहेका र हुने अन्तर्संघर्ष र पुनर्मिलनको, फुट र एकताको अनि विद्रोह र पुनर्गठनको अर्थात् समग्रमा भन्नुपर्दा शुद्धीकरण र रुपान्तरणसहितको एकीकरण र ध्रुवीकरणको सर्वाधिक आवश्यकता र महत्व छ ।
– लेखक : लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व माओवादी जनयुद्ध थालनीका केन्द्रीय नेता हुन् ।

