जेनजी आन्दोलन :प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट
काठमाडौँ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले जेनजी आन्दोलनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको जनाएको छ । डीआईजी रेग्मी नेतृत्वको समितिले आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको आन्तरिक प्रतिवेदनमा काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको र आन्दोलनकारीले डमी राउण्ड पनि लुटेर लगेको उल्लेख छ । आन्दोलनकारीलाई भगाउन प्रयोग गरिने ‘डमी राउण्ड’ करिब २ हजार २ सय रेकर्डमा नभेटिएको हो ।
त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको विवरण संकलन गरिएको छ । लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा फेला परेको छैन । म्याग्जिन (गोली राख्ने भाँडो) १७ सय थान हराएको छ ।
जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउण्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउण्ड ४ हजार र २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो ।
एकजना उच्च प्रहरी अधिकृतका अनुसार बानेश्वरसहित देशभर २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको छ । प्रदर्शनकारी भगाउन २५ सय भन्दा धेरै ब्ल्याङ्क राउन्ड फायर गरेको भेटिएको छ । ब्ल्याङ्क राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको अन्तरिक प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, जेनजी प्रदर्शनपछि स्थिति सामान्य भएसँगै प्रहरीले हराएका र लुटपाट भएका करिब ३५ सय राउण्ड गोली बरामद गरेको छ । काठमाडौं उपत्यका र प्रदेशका युनिटहरुबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउण्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
प्रदर्शन स्थलमा हराएको र युनिटहरुबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ । प्रदर्शनमा करिब १२ सय थान हतियार हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । हराएको ७ सय ४७ थान हतियार भेटिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । ती प्रहरी अधिकृतका अनुसार प्रहरीको ४५३ थान हतियार अझै बाहिर छ ।
