नेकपाले आज मध्यान्ह काठमाडौँमा बृहत् जनसभा गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज मध्यान्ह काठमाडौँमा बृहत् जनसभा गर्ने भएकोछ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।
सोही बैठकको निर्णयअनुसार नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेन–जी माथिको भएको दमन निष्पक्ष छानबिन गर, युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर जस्ता माग गर्दै भित्ते लेखन गरेको छ ।
यसैगरी, सो पार्टीले कात्तिक १५ गते देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको थियो कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गरेको थियो भने आज मध्यान्ह (कात्तिक २० गतेबिहिबार ) राजधानीमा बृहत् जनसभा आयोजना गर्न लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उक्त बृहत् जनसभामा सहभागिता जनाउन आम राजनीतिज्ञ , बुद्धिजीवी , नागरिक समाज , ब्यापारीलगायत आमस्वाभिमानी जनतालाई आग्रहसमेत गरेका छन।
