खड्का ल्याण्डलाई स्काउटको बहाल चुक्ता गर्न सात दिनको अल्टिमेटम
काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्माण भएका संरचना प्रयोगकर्तालाई बहालको बक्यौता रकम तिर्न सात दिनको समय दिएको छ। स्काउटले बहालको बक्यौता चुक्ता नभए जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने चेतावनी दिएको छ। स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको जनाएको छ। त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको सूचनामा उल्लेख छ ।
सूचनमा उल्लेख छ -‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० ९४० र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ। ’
