बैंकिङ नाफा संकटको भित्री कथा: तरलता, लगानी र नीतिगत असन्तुलनको प्रभाव

२०८२ कार्तिक २५ गते, सोमबार
रमेश कुमार बोहोरा

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई दिशा दिने भूमिका निर्वाह गर्दै आएको थियो । तर चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक नतिजाले बैंकिङ प्रणालीभित्र गहिरो असन्तुलन र नाफा संकटको संकेत दिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले देखाउँछ २० बैंकमध्ये १५ वटाको नाफा घटेको छ । समग्रमा बैंकिङ क्षेत्रको नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको १६ अर्बभन्दा बढी नाफासँग तुलना गर्दा अर्थतन्त्रको गहिरो खाडलको रूपमा देखिन्छ ।

नाफा घट्नुका कारणहरू धेरै तहका छन् । बजारमा अत्यधिक तरलता छ, ऋण असुलीमा समस्या बढेको छ, ब्याजदरमा अस्थिरता छ, लगानीयोग्य क्षेत्रमा अभाव छ र नियामक नीतिले बैंकहरूलाई कडाइमा राखेको छ । यी सबैले बैंकहरूको आम्दानी घटाउँदै वित्तीय परिसंचरणलाई कमजोर बनाएका छन् । नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रमा यस्तो अवस्था केवल बैंकहरूको समस्या होइन यो समग्र आर्थिक अवस्थाको सूचक हो । बैंकहरूमा पैसा जम्मा छ तर लगानी छैन । बजारमा निष्क्रिय पूँजी बढिरहेको छ जसले अर्थतन्त्रको मुटुमा ‘सर्कुलेशन ब्लक’ सिर्जना गरेको छ ।

यसबीच ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाउँदै अग्रस्थान सुरक्षित गर्‍यो । अघिल्लो वर्षको तुलनामा यसको नाफा २३ प्रतिशतले बढेको छ । नबिल बैंकले १ अर्ब ७५ करोड नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा १४.५७ प्रतिशत घट्यो । प्राइम कमर्शियल, एभरेष्ट, र कुमारी बैंक पनि एक अर्बभन्दा माथिको नाफा कायम गर्न सफल भए । तर एनएमबि, हिमालयन, प्रभु, माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी सनराइजलगायतका बैंकहरूको नाफा घटेको छ । प्रभु बैंकको नाफा अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढी घटेर ५५ करोडमा सीमित रह्यो ।

यसपटक सबैभन्दा गम्भीर अवस्था सिटिजन्स बैंकको रह्यो जसले २२ करोडभन्दा बढी नोक्सान ब्यहो-र्‍यो अघिल्लो वर्ष नाफामा रहेको बैंक घाटामा जानु व्यवस्थापनगत असन्तुलनको मात्र उदाहरण होइन बैंकिङ जोखिमको संकेत पनि हो । यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) को नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाखमा सीमित भए पनि यसको आन्तरिक सुधार प्रयासले बजारमा सकारात्मक संकेत दिएको छ ।

मेगा बैंकसँग पछिल्लो वर्षको जटिल मर्जर प्रक्रिया र सञ्चालन एकीकरणपछि अहिले पुनर्संरचनाको चरणमा छ । बैंकले आन्तरिक खर्च नियन्त्रण, कर्मचारी संरचना सरलीकरण, डिजिटल बैंकिङ विस्तार र ग्राहक सन्तुष्टिमा सुधारजस्ता कदम चालिरहेको छ । नाफा घटेपनि संस्थागत पारदर्शिता र व्यवस्थापन सुदृढीकरणमा देखाएको सक्रियता विशेषज्ञहरूका दृष्टिमा दीर्घकालीन सन्तुलनको आधार हो । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा सँग कुरा गर्दै बैंकका एक वरिष्ठ अधिकृत भन्छन् “नाफा अस्थायी रूपमा घटेको हो तर सुधार स्थायी हुनेछ ।” यो दृष्टिकोणले स्पष्ट पार्छ । बैंकको अवस्था मापन केवल तत्कालिक नाफाबाट होइन भविष्यका वित्तीय क्षमताबाट हुनुपर्छ ।

अर्थशास्त्री चिन्तामणि शिवाकोटीका अनुसार अहिलेको बैंकिङ संकटको मूल कारण तरलता र लगानीबीचको असन्तुलन हो । “बैंकमा पैसा छ तर लगानी छैन । यही विरोधाभासले नाफा घटाएको हो” उनी भन्छन् । अर्का अर्थशास्त्री डा. विश्व पौडेल भन्छन् “नेपालको बैंकिङ प्रणाली अत्यधिक प्रतिस्पर्धी बनेको छ । सबै बैंकहरू समान सेवा र ब्याजदरमा सीमित हुँदा बजार विस्तार हुन सकेको छैन । अब नयाँ उत्पादन प्रविधि र ग्राहक केन्द्रित सेवा नै टिकाउ नाफाको उपाय हो ।”

बैंकहरूको नाफा घट्नुले सरकारको राजस्वमा प्रत्यक्ष असर पारेको छ । नाफा घटेपछि बैंकहरूले बुझाउने कर राजस्व कम हुन्छ । यसले राज्यको आय घटाउँछ र पूँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । लाभांश वितरण घट्दा लगानीकर्ताको विश्वास कमजोर हुन्छ शेयर मूल्य घट्छ र पूँजी बजार सुस्त बन्छ । यति हुँदाहुँदै पनि केही बैंकहरूले संकटलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उदाहरण त्यसकै प्रमाण हो । मर्जरपछि सञ्जाल विस्तार, सेवा सरलीकरण, डिजिटल माध्यमबाट पहुँच वृद्धि र जोखिम व्यवस्थापन सुधारले बैंकलाई दीर्घकालीन सुदृढतर्फ धकेल्दैछ । वित्तीय विश्लेषकहरू भन्छन् “यो बैंक अहिले पुनःउत्थानको चरणमा छ । जहाँ तत्काल नाफा भन्दा संस्थागत सन्तुलनमा ध्यान दिइँदैछ ।”

वर्तमान चुनौतीहरू बैंकहरूबीचको ब्याजदर प्रतिस्पर्धा, निक्षेपका लागि युद्ध र ऋण मागको कमी हुन् । ब्याजदर अस्थिर हुँदा ग्राहक लाभान्वित भए पनि बैंकको आम्दानी घट्छ । सञ्चालन खर्च उस्तै रहँदा स्प्रेड रेट घट्छ जसले नाफा संकुचित गर्छ । यदि ब्याजदर स्थायित्वका लागि नीति नअपनाइए दीर्घकालीन स्थायित्वमा जोखिम आउने विशेषज्ञहरूको चेतावनी छ । नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा कडाइका नीति अपनाएको छ । रियल स्टेट ऋणमा नियन्त्रण, न्यूनतम तरलता अनुपात र क्रेडिट ग्रोथमा सीमा जस्ता प्रावधानहरू लागू गरेर प्रणालीलाई नियन्त्रणमा राख्ने प्रयास गरिएको छ । यी उपायले तत्कालीन नाफा घटाए पनि वित्तीय स्वास्थ्य सुधारको दिशा देखाइरहेका छन् ।

लगानीयोग्य क्षेत्रको कमी अब केवल आर्थिक समस्या होइन विकास अवरोध बनेको छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्र नीतिगत अनिश्चितताले जकडिएका छन् । परियोजनामा स्वीकृति ढिलो हुन्छ । सार्वजनिक–निजी साझेदारी कमजोर छ र जोखिम मूल्यांकन प्रणाली अभावमा छ । फलस्वरूप बैंकहरूको अरबौँ निक्षेप निष्क्रिय छन् र अर्थतन्त्र सुस्त हुँदै गएको छ । यस अवस्थाले सर्वसाधारणमा पनि प्रश्न उठाएको छ । के बैंकमा राखिएको पैसा सुरक्षित छ ? विशेषज्ञहरू भन्छन् यसबारे चिन्ता लिनुपर्ने अवस्था छैन । बैंकहरूको पूँजी पर्याप्त छ नियामक निकायको निगरानी बलियो छ । तर लगानीकर्ताको मनोविज्ञान फरक हुन्छ । जब नाफा घट्छ, लाभांश घट्छ, बजारमा विश्वास घट्छ । यो परिस्थिति केवल वित्तीय नतिजा होइन प्रणालीगत चेतावनी हो । यदि अहिले सुधार नहुने हो भने आगामी त्रैमासमा नाफा घट्ने क्रमले पूँजी बजारदेखि सम्पूर्ण वित्तीय सन्तुलनमा असर पार्न सक्छ । त्यसैले बैंकहरूले अब परम्परागत ब्याज आधारित मोडेलबाट बाहिर निस्कनु जरुरी छ । कृषि, ऊर्जा, सूचना प्रविधि, हरित वित्त र स्टार्टअप लगानीमा प्रवेश गर्नुपर्ने बेला आएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिएको सुधारमुखी बाटो यसको उदाहरण हो । यसले नाफा घटेपनि पारदर्शिता, व्यवस्थापन दक्षता र ग्राहक सेवाको गुणस्तरमा जोड दिएको छ । यस्तो रणनीतिले तत्काल लाभ नदिए पनि दीर्घकालीन विश्वसनीयता निर्माण गर्छ ।

बैंकहरूको नाफा घट्नु केवल तथ्यांकको कुरा होइन यो अर्थतन्त्रको चेतावनी संकेत हो । ग्लोबल आईएमई, नबिल र प्राइम जस्ता बैंकहरूले अझै नाफा कायम राखे पनि समग्र प्रणाली जोखिमपूर्ण मोडमा प्रवेश गरिसकेको छ । बजारमा पैसा छ, तर लगानी छैन । ब्याजदर अनिश्चित छ, ऋण असुली कमजोर छ, उपभोग घटेको छ । यस्तो अवस्थामा समन्वित सुधार, नीतिगत स्पष्टता र प्रविधिमैत्री दृष्टिकोणबिना बैंकिङ स्थायित्व सम्भव छैन । तर अझै पनि समय बाँकी छ । यदि बैंकहरूले तत्कालिक नाफाभन्दा संस्थागत सुधारमा जोड दिए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकजस्ता संस्थाहरूले देखाएको संयम र रणनीतिक सोचलाई अनुकरण गरे नेपाली बैंकिङ क्षेत्र फेरि पनि स्थायित्व, पारदर्शिता र विश्वासको केन्द्र बन्नेछ । अहिलेको नाफा घट्नु अन्त्य होइन यो सुधार र पुनर्जागरणको सुरुवात हुनेछ ।
(लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन)

प्रतिक्रियाहरु

[anycomment]