उग्र वामपन्थीहरुको दक्षिणपन्थी भासमा हुने पतनः एक चर्चा
संसारमै पहिलेदेखि नै उग्र वामपन्थीहरु अन्तत दक्षिणपन्थी भासमा फस्छन्भन्ने भनाई रहँदै आएको छ । बिचारको सन्तुलन मिलाउनु आफैमा एक कठीन काम हो । नेपालमा यस्ता अनगिन्ती उदाहरणहरु रहेका छन् । जसमध्ये दुईटा घटनालाई दृष्टान्तका रुपमा लिने गरिन्छ । त्यो हो झापा विद्रोह र माओवादी जनयुद्ध । हाल दुबै विद्रोह चरम दक्षिणपन्थी भासमा फसेको अवस्था छ । ०२८ सालको जेठ तीन गते झापाका कर्णबहादुर गौतमको हत्या भएको थियो । सो काण्डमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशीलगायतका युवकहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । बलबहादुर थापा, बिसु राजवंशी र झम्कु राजवंशीले गौतमकाण्डमा सफाइ पाएका थिए । ‘वर्गशत्रु’ मास्ने भनेर शुरुगरिएको झापा विद्रोह ०३५ सालमा माले भएको थियोभने विभिन्न चरण पार गर्दै ०४६ मा मनमोहन अधिकारीहरुको संशोधनवादी पार्टीसँग एकता गरेर एमाले भएको थियो । शुरुमा माओ बिचारधारको उग्र अनुयायी सो समूह पछि माओ बिचारधारा औपचारिकरुप मै परित्याग गरेर जनताको बहुदलीय जनवादमा पुगेको थियो । हाल सो सिद्धन्तकोसमेत नाम लिन छाडेको छ । भारतको पश्चिम बंगालको नक्सलवाडीबाट शुरुभएको ‘सर्वहारावर्गको विद्रोह’ नेपालको झापामा समेत फैलिएको थियो । चारु मजुम्दार, जंगल सन्थाल र कानु सन्यालले त्यतिबेला पश्चिम बंगालमा गुप्तरुपमा ‘नक्सलाइट’ आन्दोलन चलाइरहेको बताइन्थ्यो । सो आन्दोलनमार्फत नेपालमा त्यस्तै गतिविधि अगाडि बढाउने श्रेय मोहनचन्द्र अधिकारीलाई दिइन्छ । चारु मजुम्दार जमिनदारका छोरा थिए । ५४ वर्षमै उनको प्रहरी हिरासतमा कलकत्तामा मृत्युभएको थियो । उनी भारतीय कम्युनिष्ट पार्टी (माले) का महासचिव थिए । त्यसैले नेपालमा झापाली कम्युनिष्टहरुले पनि नेकपा (माले) को रचना गरेका थिए । कम्युनिष्ट नेता कानु सन्याल (कृष्णकुमार) सामान्य बंगाली थिए । उनी नेपाली पनि बोल्थे । भनिन्छ पछिल्ला वर्षहरुमा उनी निराश देखिन्थे । पछि उनले झुण्डिएर आत्महत्या गरेको खबर पत्रपत्रिकामा आएको थियो । त्यतिबेला धेरैले सायद धेरै पछुतो लागेछ क्यार सयकडौं मानिस मारिएछ भनेरभन्दै टिप्पणी गरेका थिए ।
०२२–२३ सालदेखि नै पश्चिम बंगालमा नक्सलाइट आन्दोलनको दावानल सल्काउने कानुले काठमाडौं हुँदै चीन गएर गुप्तरुपमा माओलाई भेटेको बताइन्छ । ‘नक्सलाइट मुभमेन्ट इन इन्डिया’ पुस्तकमा विप्लवदास गुप्तले चारु, कानु र जंगल सन्थालकाबारेमा रोचक चर्चा गरेको पाइन्छ । यतिबेला भारतको पश्चिम बंगालमा कम्युनिष्टहरुको अवस्था अत्यन्त कमजोर रहेको छ । हालै भएको संसदीय निर्वाचनले पनि सो कुराको पुष्टि गरेको छ । ‘वर्ग शत्रु’ सिध्याउने नाममा झापामा चलेको कम्युनिष्टहरुको ‘मानव बलिप्रथा’ले आतंकको वातावरण पैदागरेको थियो । ०२९ बैशाख २६ गते बुटन चौधरीको हत्याभएको थियो । ०२९ मंसिर २३ गते उद्रकान्त राजवंशी मारिएका थिए । ०२९ असार २७ गते विष्णुप्रसाद बिमली र ईश्वरीप्रसाद चुँडालको हत्या भएको थियो । ०२९ पुस १० गते तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसांसद धर्मप्रसाद ढकालको हत्या भएको थियो । जसको चर्चा हालसम्म भइरहेको छ । सोही काण्डमा हाल एमालेका अध्यक्ष रहनुभएका खड्गप्रसाद (केपी) ओली लगायतमाथि जेल सजाय भएको थियो । झापा विद्रोहबाट प्रेरित र भारतीय गुप्तचर संस्था ‘रअ’बाट संरक्षित नेपालका कतिपय कम्युनिष्टहरुको दुर्दशा पनि त्यस्तै भएको छ । ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका’ ग्रन्थमा प्रा. रोहण गुणरत्नेले दक्षिण एशियाका उग्रविद्रोह र राजनीतिक उथलपुथल दिल्लीको लोदीरोडस्थित गुप्तचर संस्था ‘रअ’ र त्यसका सल्लाहकारहरुले डिजाइन गर्नेगरेको उल्लेख गर्नुभएको पाइन्छ । हालैमात्र ०५२–०६२ मा चलेको माओवादी जनयुद्धका संयोजक पुष्पकमल दाहालले पार्टीको नामबाट ‘माओवादी केन्द्र’ र सिद्धान्तबाट ‘माओवाद’लाई परित्याग गरेर पूरै दक्षिणपन्थी राजनीतिक बाटो रोजेपछि त्यस्तै अनेक चर्चाहरु भइरहेका छन् । त्यसो त यसअघि नै जनयुद्ध कालका चर्चित नेता डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीमात्र नभएर कम्युनिष्ट राजनीति र बिचारसमेत परित्याग गर्नुभएको थियो । उहाँ हाल नेपालमा रास्वपालगायतका गैह्र कम्युनिष्ट पार्टी र राजनीतिको संयोजनमा लाग्नुभएको छ । उहाँले आगामी १५ वर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट नामधारी पार्टी नरहनेभनी घोषणा गरेको दुईवर्ष बितेको छ ।
यसले उग्र वामपन्थीहरु कसरी दक्षिणपन्थी भासमा पुग्दा रहेछन् भन्ने स्पष्ट गरेको छ । कम्युनिष्ट राजनीतिमा जहिले पनि दाहिने र देब्रे गल्ती हुने संभावना रहन्छ । उक्त दुबै गल्तीबाट जोगिएर शोषित पीडित जनताको राजनीतिलाई निष्कर्षमा पु¥याउनु पर्दछ । जुन कला चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले प्रदर्शन गर्नुभएको थियो । कुनै बेलाका माओवादी नेता डा. भट्टराई नेपाली काँग्रेसबाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेर फेरी नेपाली काँग्रेसतिरै फर्कनु भएको छ । उहाँले कतिपय सार्वजनिक कार्यक्रममा आपूmलाई आधा काँग्रेस र आधा कम्युनिष्ट भएको मिश्रित अर्थात अवसरवादी नेता भएको स्वीकार पनि गरिसक्नु भएको छ । अर्का नेता पुष्पकमल दाहालको पनि खास आकर्षण नेपाली काँग्रेस तिरै हो । उहाँ पनि गतसाताबाट नेपाली काँग्रेसको झण्डै निकट पुग्नु भएको छ । उहाँहरु दुबैले मिलेर नेपालमा १० वर्ष चलेको जनयुद्धलाई बढो रहस्यमय ढंगले भारतको नयाँ दिल्लीमा लगेर ०६२ मंसिर सातगते बिसर्जन गरिदिनु भएको थियो । त्यसपछि पुष्पकमल दाहालले कतिपय प्रसगमा आपूm नेपालमा नेपाली काँग्रेस र अन्तराष्ट्रियरुपमा भारत र अमेरिकासँग मिल्न बाध्य भएको बताउने गर्नुभएको कुरा बाहिर आएका छन् । माओवादी नेता भएपनि उहाँ माओको देश चीनको घोर विरोधी र भारत तथा अमेरिकाको अशली समर्थक रहेको विभिन्न घटनाले स्पष्ट पनि गरेका छन् । उहाँले नेपालमा सैन्य रणनीतिमा आधारित बिवादास्पद अमेरिकी योजना एमसीसी भित्र्याउन र विकास रणनीतिमा आधारित चीनको बिआरआई पन्छाउन खेलेको भूमिका धेरै रोचक र ज्वलन्त रहेको छ । त्यसो त उहाँले आफ्ना उपलब्धी भन्नेगरेका संघीय शासन, जातीय समाबेशी, धर्मनिरपेक्षता र समानुपातिकसहितको मिश्रित निर्वाचन प्रणाली अमेरिकाद्वारा प्रायोजित र संरक्षित रहेका कुराहरु पनि खुलिसकेका छन् । त्यसैले उहाँ पछिल्लो समयमा गत भदौ २३ र २४ को घटना गराउनेहरुको आपूm संरक्षक रहेको बताउन पनि पछिपर्नुभएको छैन । कुनैबेला उहाँले एमालेभन्दा नेपाली काँग्रेस वामपन्थी रहेको बताउँदै सो पार्टीसँग आगामी १५ वर्षसम्म कार्यगत एकता गर्ने योजना पनि बनाउनु भएको थियो । जुन सपना बालुवाको महल झै ढल्यो । एमालेले भने आपूmलाई नाममात्रको कम्युनिष्ट रहेको स्वीकारेको छ ।
०७८ मा चितवनमा भएको सो पार्टीको महाधिवेशनमै अध्यक्ष ओलीले आपूmहरु सैद्धान्तिक नभएर पपुलिष्ट( नाममात्रको) कम्युनिष्ट भएको बताउनु भएको थियो । खासमा वामपन्थी र दक्षिणपन्थी शब्द अंग्रेजीको ‘राइटिष्ट’ र ‘लेफ्टिष्ट’ को नेपालीकरण हो । अग्रगामी र यथास्थितिवादी राजनीतिक मूल्य, मान्यता अँगालेका आधारमा त्यसलाई अथ्र्याउने गरिन्छ । राजनीतिमा ‘राइटिष्ट’ र ‘लेफ्टिष्ट’ शब्दको प्रवेश फ्रान्सको व्यवस्थापिका राष्ट्रियसभाबाट शुरुभएको मानिन्छ । फ्रान्समा राज्य क्रान्तिपछि सन् १७८९ मा परिवर्तनका पक्षधर र पुरानै व्यवस्थाका समर्थक दुवैखाले बिचारधाराका व्यक्तिहरु राष्ट्रियसभामा चयन भएका थिए । राष्ट्रियसभामा नयाँ संविधानको मस्यौदा गर्ने काम हुँदा त्यसपछि त्यहाँ पनि राजतन्त्रसहितको पुरानै व्यवस्था कायम राख्नुपर्छभन्ने पक्षमा रहेका र परिवर्तनको पक्षमा रहेकाहरुबीच विभाजन भएको थियो । त्यसरी विभाजन हुँदा सभामा पनि उनीहरु छुट्टाछुट्टै बस्न थालेका थिए । परिवर्तनको पक्षमा हुने सदस्यहरु सभाहलको बायाँतिर र पुरानै व्यवस्था कायम राख्नुपर्छभन्ने पक्षमा रहेकाहरु दायाँतिर बस्नथालेका थिए । करिव एक वर्षसम्म सोक्रम चलेको थियो । राष्ट्रियसभामा बसेको दिशाका आधारमा त्यतिबेलाका पत्रपत्रिकाले उनीहरुलाई ‘राइटिष्ट’ र ‘लेफ्टिष्ट’ का रुपमा स्थापित गराएका हुन् ।
बीचमा नेपोलियन बोनापार्टको शासनकालमा दायाँ र बायाँको विभाजन हराएको थियो । सन् १८१४ मा फ्रान्समा संवैधानिक राजतन्त्रको शुरुवात भएपछि प्रगतिशील र परम्परागत राजनीतिक व्यवस्थाका पक्षपातीहरु दायाँ र बायाँ आ–आफ्नो ठाउँमा बस्न थालेका थिए । १९औं शताब्दीको मध्यसम्म आइपुग्दा राजनीतिक बिचारधारा कै रुपमा फ्रान्समा त्यो भनाई स्थापित भइसकेको देखिन्छ । नेपालमा पनि पछिल्लो समयमा वामपन्थी र दक्षिणपन्थीको मिश्रण गराएर विश्वमा चलेका कम्युनिष्ट राजनीतिका मूल्य, मान्यता र आदर्शलाई समाप्त पार्नेकाम तीव्र भएको छ । कम्युनिष्ट पार्टी के हो ? वर्ग र वर्ग संघर्ष के हो ? समाजवाद र साम्यवाद के हो ? जनताका सन्तर्विरोधहरुको कसरी सहीरुपमा सञ्चालन गर्ने ? जन सेना, जनयुद्ध, पार्टीका समितिहरुको सञ्चालन गर्ने–गराउने कलालगायतका विषयमा विभिन्न मान्यताहरु स्थापित भइसकेका छन् । तर पनि उग्र क्रान्तिकारी भएर चरम दक्षिणपन्थी भासमा फस्नेक्रम रोकिएको छैन । अब नेपालका कम्युनिष्टहरुका बीचमा पछिल्ला घटनाहरुको संश्लेषण जरुरी हुन पुगेको छ ।

