वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो !

२०८२ मंसिर १ गते, आईतवार


काठमाडौँ । वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।
कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।
कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।
ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।
त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिनेछन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वत: घट्छ ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ !

२०८२ कार्तिक २९ गते, शुक्रबार

नेप्से १.१३ अंकले बढ्यो

२०८२ कार्तिक २८ गते, बिहीबार