नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक
काठमाडौँ । नारायाणघाट-बुटवल सडक योजना (पूर्वी-खण्ड)ले नारायणगढस्थित नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने जनाएको छ ।
नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने लागिएको हो ।
दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने जनाइएको छ ।
महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ( गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ । बुटवल-नारायणगढ सडक फराकिलो पार्ने काम अन्तिम चरणमा रहेको छ ।
