२९ दलको दर्ता प्रक्रिया रोकियो !

२०८२ मंसिर ५ गते, बिहीबार


काठमाडौँ। निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका धेरै दल पाँच सय मतदाताको हस्ताक्षर संकलन गर्न नसक्दा दर्ता प्रक्रिया रोकिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल दर्ताका लागि पाँच सय सदस्यको प्रतिबद्धतापत्र तथा नागरिकता/मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहित हस्ताक्षर बुझाउन पर्ने व्यवस्था छ। यो प्रक्रिया पूरा नगरेका करिब २९ दल अहिले आयोगमा रोकिइरहेका छन्।
पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने समूहले दल सञ्चालन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाउँदै दल दर्ता प्रक्रियामा आवश्यक सामूहिक जिम्मेवारी पूरा गर्न नसक्नु गम्भीर कमजोरी भएको बताए। धेरै दलले केन्द्रीय समितिका पदाधिकारी र सदस्यको सनाखतसमेत गर्न सकेका छैनन्। पाँच सय हस्ताक्षर गर्ने व्यक्तिले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउनुपर्ने व्यवस्था छ। दलका पदाधिकारीले भने आयोगमै सनाखत गराउनुपर्छ।
आयोगका अनुसार मङ्सिर ३ गतेसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले मात्र दर्ताको प्रमाणपत्र पाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन कात्तिक ३० गतेसम्म निवेदन दिएका दलले मङ्सिर १० गतेभित्र सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।
उज्यालो नेपाल पार्टीले साउन २७ गते निवेदन दिएको भए पनि हालसम्म ३५९ जनाको हस्ताक्षर मात्र सनाखत गराएको छ। स्वाभिमान पार्टीले कात्तिक ३० गते निवेदन दिएर चार दिनमा चार सय हस्ताक्षर बुझाएको छ। कात्तिक २५ गते निवेदन दिएको पिपुल फर्स्ट पार्टीले बुधबार सबै प्रक्रिया पूरा गर्दै दर्ता अन्तिम चरणमा प्रवेश गरेको छ। बाँकी २१ दलका जिल्लास्तरीय सनाखतबारे आयोगमा कुनै जानकारी आएका छैनन्। पूर्वआयुक्त गुरुङका अनुसार पहिले पाँच हजार हस्ताक्षरको व्यवस्था राखिएको भए पनि दलहरूले काल्पनिक नाम राख्न थालेपछि सत्यापन गर्न कठिन भएकाले सङ्ख्या घटाइएको थियो। आयोगसँग हस्ताक्षर र नागरिकता मिलान गर्ने सफ्टवेयर नभएकाले अन्य दलको सदस्य नभएको कसरि यकिन गरिने भन्ने अस्पष्ट रहेको आयोग स्रोतले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु