लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ । बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो । कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमतिपत्र नवीकरण नगरेकाले आवश्यक निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ । नियमावलीको व्यवस्था अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो ।
