विवाहपञ्चमी महोत्सव : आज मटकोर

२०८२ मंसिर ९ गते, सोमबार

काठमाडौँ । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ । यसका लागि आज दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरिनेछ ।
मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार रामजानकी विवाहको अघिल्लो दिन मटकोर विधि गर्न लागिएको हो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि गरिन्छ । यस्तै छैटौँ तथा मुख्य दिन मंसिर शुक्ल पञ्चमीमा भोलि स्वयंवर र राति वैवाहिक कार्यक्रम रहेको छ ।
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाहपञ्चमीको भोलिपल्ट मङ्गलबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]