नयाँदिल्लीमा वायु प्रदूषण उच्च
काठमाडौँ । भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ । पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।
सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभए सम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरू जारी गरेका छन् ।
