उद्देश्य विपरीत नेपाल बसेका विदेशीमाथि विशेष निगरानी
काठमाडौँ । अध्यागमन विभागले उदेश्य विपरीत नेपाल बसेका विदेशी नागरिकहरूमाथि विशेष निगरानी अघि बढाएको छ । विभागका अनुसार अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको खुलेको छ । अध्ययन भिसा नपाउनेहरुलाई अध्ययन भिसाका लागि सिफारिस गरेको देखिएपछि अध्यागमनले एक सूचना जारी गरी शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न भनेको छ।
अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी टिकाराम ढकालले अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नहुने गरेको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गर्ने गरेको, कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसेको पाइएको बताए।
कतिपय विदेशी नागरिकहरु गैह्रकानूनी क्रियाकलापमा समेत संलग्न रहेको पाइएकाले त्यस्को सूचना प्रहरी तथा स्थानीय निकायमा दिन समेत शैक्षिक संस्थाहरुलाई अध्यागमनले अनुरोध गरेको छ।
विदेशी नागरिकलाई अध्ययन गराउने सबै शैक्षिक संस्था अनुगमन गर्न शिक्षा मन्त्रालय, विदेशी नागरिकहरुको गतिविधि अनुगमन गर्न ७७ वटै जिल्ला अनुगमन समितिलाई समेत अध्यागमन विभागले अनुरोध गरेको छ ।

