त्रिभुवन विश्विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

२०८२ मंसिर १२ गते, बिहीबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०८२।०८३ को लागि नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजि सभाले त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियममा गरिएको संशोधन प्रस्ताव पनि पारीत गरेको हो । बुधबार सम्पन्न भएको त्रिवि सभामा पारित नीति तथा कार्यक्रमका महत्वपूर्ण बुँदाहरु मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुनर्संरचना तथा विकास, सूचना प्रविधि र डिजिटल रुपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको स्रोत परिचालन, अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन, अन्तर्राष्ट्रियकण र विश्वश्रेणीकरणमा सुधार र वित्तीय व्यवस्थापनका सम्बन्धमा नीतिगत सुधारका प्रस्ताव आदि रहेका छन् ।
यसैक्रममा त्रिभुवन विश्विद्यालयले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्रिविका आङ्गिक क्याम्पसहरूमा विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संङ्ख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडि बढाइने बताएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्रिविबाट सम्बन्धन लिएर सञ्चालन भएका सम्बन्धन प्राप्त सामुदायिक तथा निजी क्याम्पस/कलेजहरूमा शैक्षिक, भौतिक, प्रशासनिक कार्यसम्पादनको नियमित मूल्याङ्कन र अनुगमन गरी आवश्यकता अनुसार उल्लिखित क्याम्पस/कलेजलाई समायोजन वा खारेज गर्ने नीतिलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
यस्तै, त्रिविको पुनर्संरचना गर्ने नीति कार्यान्वयन गर्नका लागि उच्चस्तरीय त्रिवि पुनर्संरचना आयोग गठन गरी पुनर्संरचनाको कार्य अगाडि बढाइने, त्रिविका आङ्गिक क्याम्पसहरू र सम्बन्धनप्राप्त क्याम्पस/कलेजहरूमा आवश्यकता अनुसार कार्यक्रम तथा विषय थपको प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।
विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस÷कलेज र निजी क्याम्पस/कलेज सञ्चालनार्थ सम्बन्धन नीतिमा संशोधन गर्नुका साथै नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार शिक्षक/कर्मचारीहरूको स्तर निर्धारणका लागि संयन्त्र बनाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई अन्तर सम्बन्धित गराई शिक्षण र अनुसन्धान कार्यलाई जोड्ने नीति कार्यान्वयन गरिने, विश्वविद्यालयको शैक्षिक व्यवस्थापन एवं सूचना प्रणाली को स्तरोन्नति गरिने र त्रिविको आवश्यकता र प्राथमिकताका आधारमा विदेशी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग एमओयू गरिने उल्लेख छ ।
त्रिविका विभिन्न निकायहरूबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको विषय र पाठ्यक्रमहरूको पुनरावलोकन गरिने, स्नातक, स्नातकोत्तर, अधिस्नातक, दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको अध्ययन, अध्यापन र अनुसन्धान कार्यका लागि मौजुदा पाठ्यक्रमलाई विश्व बजार सुहाउँदो समयानुकूल, समसामयिक र प्रयोगमुखी बनाई पुनरावलोकन तथा परिमार्जन गरिने र त्रिविका आङ्गिक क्याम्पसहरू, केन्द्रीय विभागहरू र स्कूलहरूमा सञ्चालित स्ववित्तीय कार्यक्रमका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
विश्वविद्यालयले सुविधा सम्पन्न प्रादेशिक परीक्षा हल निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्रिविका उपकुलपति प्राध्यापक दीपक अर्यालले त्रिविको अबको पाठ्यक्रमदेखि लिएर त्रिविले गर्ने गतिविधिमा सुस्तता नआउने दाबी गरे ।
त्रिवि अब पुरानै तरिकाले नभइ नयाँ ढंगले कसरी अघि बढ्ने भन्ने विषयमा त्रिविको भविष्य सुधार्ने रोडम्याप तयार भएको बताउँदै अब नयाँ तरिकाले अघि बढ्ने बताए । उनले भने -‘त्रिविले केही काम समयमा गर्दैन भन्ने गुनासो बढ्दो छ, हामीले अब छिटो छिरितो र सहज तरिकाले सेवा दिने गरी नीति पारित गरेका छौं, यही नीतिअनुसार काम गर्न सकियो भनेपनि ठूलो परिवर्तन हुनेछ। ’

प्रतिक्रियाहरु

[anycomment]