यस बर्षको हिउँदमा सरदर भन्दा कम वर्षा हुने सम्भावना

२०८२ मंसिर १९ गते, बिहीबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने , अधिकतम तापक्रम र न्यूनतम् तापक्रम पनि सरदर भन्दा बढी नै रहने जनाएको छ ।
विभागले सार्वजनिक गरेको आकलन अनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर-पश्चिम भूभागमा सरदर भन्दा कम, सरदर र सरदर भन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बागमतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बागमतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदर भन्दा बढी हुने आकलन छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बागमतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ ।
सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण-पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका भूभागमा सरदर भन्दा कम, सरदर र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ ।
यस्तै, न्यूनतम् तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती प्रदेशका उत्तर-पूर्व र दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर-पश्चिम भूभागमा न्यूनतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
यस्तै, देशका बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]