बैंक तथा वित्तीय क्षेत्रमा एआई प्रयोगको लागि मार्गदर्शन मस्यौदा तयार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता एआई प्रयोगको लागि मार्गदर्शन मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस १५ गते भित्र मस्यौदामाथि सुझाव पेश गर्न भनेको छ । केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक गरेर सुझाव मागेको हो ।
मार्गदर्शन लागु भएपछि राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरूले एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्ने छन् । यसमा क्रेडिट स्कोरिङ, ठगी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन जस्ता अनुप्रयोगहरू समावेश छन्। एआईले ग्राहकहरूको ऋण योग्यता मूल्यांकन गर्न, ठगीजन्य गतिविधिहरू पहिचान गर्न वा स्वचालित च्याट मार्फत ग्राहक सहायता प्रदान गर्न सहयोग गर्ने छ । यस्ता प्रयोगहरूले संस्थाको दक्षता र क्षमता बढाउन सहयोगि हुने छ । ततपश्चात एआई प्रणालीको नतिजा र निर्णयलाई संचालक समिति र व्यबबस्थापन पक्षले वहन गर्नुपर्ने छ । एआई प्रणालीहरूलाई उच्च जोखिम वा न्युनजोखिम भनेर वर्गीकरण गरेपछि सहज हुने छ । डाटा गुणस्तर, साइबर सुरक्षा र नैतिक प्रयोगमा विशेष ध्यान दिइने जनाइएको छ ।
एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगलाई प्रोत्साहन दिन नयाँ मार्गदर्शन बनाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । यसरी अघि सारीएको मार्गदर्शनले एआईको प्रयोगबाट वित्तीय संस्थाहरूलाई फाइदा पुग्ने र व्यबस्थीत गर्न सहयोग हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई एआई प्रविधिको प्रयोगमा दिशानिर्देशन गरेर अघि बढाउनु मार्गदर्शनको मुख्य उद्देश्य रहेको छ । डाटा गोपनीयता र भेदभावरहित परिणामहरू सुनिश्चित गर्नका लागि पनि एआईको प्रयोग सहज हुने छ । साइबर जोखिमहरूको न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त संरचना स्थापना गर्न बाटो खुल्नुका साथै एआईबाट सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल लगायतका विषयमा कार्य सम्पादन हुने अपेक्षा गरिएको छ । यसले प्रतिस्पर्धी र समावेशी वित्तीय क्षेत्र निर्माण गर्दै सबै जनसंख्यालाई पहुँचयोग्य र सस्तो वित्तीय सेवा प्रदान गर्न एआईको प्रयोगलाई प्रोत्साहन दिन्छ।
