विश्वभरमा मारिएका पत्रकार र मानव अधिकारको प्रश्न
विश्वमा राजनीतिक अस्थिरता र कलह बढ्दै गएको छ भने त्यसको मारमा पर्नेहरुमध्ये पत्रकारहरुको संख्यासमेत उल्लेख्य रहेको छ । गतसाता बुधबारमात्र मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिवद्धताको लक्ष्यसहित संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको थियो । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष मनाइने उपरोक्त दिवससमेत केवल औपचारिकतामा सीमित हुनथालेको छ । उक्त घोषणापत्रले जाति, धर्म, लिंग, भाषा, बिचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै पनि भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित हुनुपर्ने कुरा उठाएको थियो । तर उपरोक्त कुराहरु केवल नरामा मात्र सीमित रहेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको भएपनि खासगरी नेपाललगायत विश्वका कतिपय मुलुकमा त्यसको कुनै ख्याल गरिएको पाइएको छैन । नेपालमा ०७२ को संविधानले बिचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुनपाउने स्वतन्त्रता र संगठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । त्यसैगरी नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश–०७७ समेत जारीगरेको छ । तर त्यस अनुरुपका गतिविधिहरु भने भइरहेका छैनन् । यतिबेला ०७२ को संविधानका कैयन प्रावधानहरु उल्लंघन गरिएका छन् । संसदको बैठक चालु रहेकै अवस्थामा संसद बाहिरबाट प्रधानमन्त्रीको नियुक्त गरी, त्यसरी नियुक्त प्रधानमन्त्रीको एकल सिफारिसमा संसद विघटन गरेर आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको घोषणा गरिँदा निर्वाचन पनि हुन नसक्ने र संविधानमा संशोधन पनि हुन नसक्ने अवस्था सिर्जना भएको छ । विभिन्न पार्टी र शक्तिकेन्द्रहरुको षड्यन्त्रबाट देश अनिर्णयको बन्दी बनेको छ । यस्ता घटनाहरु विश्वका अन्य मुलुकमा पनि घटिरहेका छन् र त्यसको प्रत्यक्ष मात्र प्रेस जगतमाथि परेको देखिएको छ । यो आलेखमा नेपाललगायत विश्वमा सन् २०२५ मा घटेका पत्रकार सम्वद्ध घटनाहरुको संक्षिप्त बिवेचना गर्ने प्रयास गरिएको छ । सन् २०२५ को सेप्टेम्बर आठमा काठमाडौंमा विरोध प्रदर्शनकाक्रममा प्रहरीले गोली चलाउँदा पत्रकारहरुसमेत घाइते भएका थिए । फोटो पत्रकारलाई कान छेउमा रबर बुलेट लागेको थियो । तर त्यसको कुनै छानविन भएन ।
त्यसैगरी देशको राजधानी काठमाडौंका धेरै मिडिया कार्यालय र प्रकाशन गृहहरुमा आगजनी, तोडफोड, भौतिक क्षति पुगेको थियो । सरकारी सञ्चार माध्यमहरुसमेत आक्रमणको निशाना बनेका थिए । पत्रकारहरु काम गर्दै गरेको अवस्थामा क्यामरालगतयका उपकरणहरु नष्ट हुनु तर रिपोर्ट रेकर्ड मेटाउन बाध्य पारिनु जस्ता घटनाहरु पनि भएका छन् । सन् २०२५ मै पर्साको वीरगञ्जमा समाचार संकलन गर्न गएका तीनजना पत्रकारमाथि कुटपिट भएको थियो । पत्रकारमाथि अन्य विभिन्न किसिमका धम्की, अवरोध, पेशागत असुरक्षाका घटनाहरु धेरै हुनेगरेका छन् । आन्दोलन र प्रदर्शनका बेलामामात्र नभएर शान्तिपूर्ण अवस्थामा समाचार संकलन गर्दा पनि पत्रकार असुरक्षित हुनथालेका छन् । राज्यसत्ता, प्रहरी, स्थानीय सरकार, विभिन्न राजनीतिक समूह, सामाजिक तथा सामुदायिक समूह, र कहिलेकाहीँ अज्ञात समूहहरुबाट समेत पत्रकारहरु माथि हिंसा, धम्की, प्रेस स्वतन्त्रता अवरोध गर्नेलगायतका घटनाहरु हुने गरेका छन् । जसबाट पत्रकारहरुको व्यक्तिगत र पेशागत सुरक्षा र स्वतन्त्रता माथि गम्भीर खतरा देखापर्ने गरेको छ । विश्वमै पत्रकारहरुलाई समाजको आँखाकारुपमा लिने गरिन्छ । लोकतन्त्रमा त झन उनीहरुलाई जनमत निर्माणका प्रमुख माध्यम मानिन्छ । त्यसैले सत्ताधारी, विभिन्न अपराधी समूह, संगठित गिरोह वा स्वार्थसमूहहरुले आफ्नो किसिमले प्रयोग गर्न खोज्ने र नभएमा अवरोध सिर्जना गर्ने गरेको देखिएको छ । जसका कारण पत्रकारहरु विश्वभर नै खासगरी विकासोन्मुख राष्ट्रहरुमा आक्रमण, धम्की, दुव्र्यवहार र सामाजिक बदनामीका शिकार बन्नेगरेका छन् । पत्रकारहरु माथि हुने सांघातिक आक्रमणमा मुख्यत शारीरिक आक्रमण कुटपिट, अपहरण, नियोजित हत्या विरोध प्रदर्शन या संघर्ष क्षेत्र कभरेजका क्रममा भएको हिंसा राज्यका सुरक्षाकर्मी वा सशस्त्र समूहद्वारा गरिने बर्बरता रहने गरेका छन्भने मानसिक तथा मौखिक हिंसा (धम्की) हुनेगरेको छ । कतिपय पत्रकारले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाएबापत परिवार लक्षित धम्की चरित्र हत्या, सामाजिक सञ्जालको दुरुपयोग गरेर दबाव सिर्जना गर्ने–गराउने लगायतका घटनाहरु पनि ब्यहोर्नु परेको देखिएको छ । त्यसैगरी पत्रकारहरु कानूनी दमनमा पनि पर्नेगरेका छन् । जसमा भूmठा मुद्धा लगाउने, बिना कारण गिरफ्तार गर्ने, प्रेस स्वतन्त्रताको उपयोग गर्न नदिनेलगायतका कार्यहरु हुनेगरेका छन् । पत्रकारहरु माथि देशद्रोह गरेको, विद्रोहीलाई उक्साएकोजस्ता आरोप पनि लाग्ने गरेका छन् । त्यसैगरी डिजिटल आक्रमण पनि बढेको देखिएको छ । जस्तो अनलाइन ट्रोलिङ, डक्सिङ, ह्याकिङ र गलत सूचना फैलाएर विश्वसनीयता कमजोर पार्नेलगायतका कामहरु पनि भइरहेका छन् ।
त्यसरी पत्रकारहरुमाथि हुने आक्रमणका मुख्य कारणहरुलाई विश्लेषण गरेर हेर्दा पत्रकारले भ्रष्टाचार, अनियमितता, राज्यको दमन वा आपराधिक गतिविधिको खुलासा गर्दा त्यसबाट प्रभावित हुने समूहहरुले प्रतिशोधस्वरुप आक्रमण गर्र्नेगरेको पाइएको छ । त्यसैगरी नेपालजस्ता मुलुकहरुमा राजनीतिक ध्रूवीकरणका कारणले पनि पत्रकारहरु प्रताडित हुनेगरेको पाइएको छ । राजनीतिक दलहरुको अति ध्रूवीकरणका कारण पत्रकारलाई शत्रु वा विरोधीकारुपमा समेत लिने गरिएको पाइएको छ । नेपालमा विद्यमान संविधान र कानून उल्लघन गर्ने प्रवृत्ति, पत्रकार सुरक्षा ऐनको ब्यवस्था नहुनु, अभिव्यक्ति स्वतन्त्रता, र अपराधीलाई दण्डित गर्ने प्रभावकारी प्रणाली कमजोर हुँदा पनि पत्रकार केन्द्रित विभिन्न अप्रिय घटनाहरु हुने गरेको देखिएको छ । उच्च प्रेस स्वतन्त्रता भएका देशहरुमा क्यानडा, अष्ट्रेलिया आदि मानिन्छन् । जहाँ पत्रकारलाई ठूलो मान्यता, कानूनी सुरक्षा र स्वतन्त्रताका साथ काम गर्ने वातावरण रहेको छ । जहाँ प्रेस स्वतन्त्रताको संविधानमै रक्षा गरिएको छभने पत्रकारमाथिको दमन वा सेन्सरशिप अत्यन्त न्यून रहेको अवस्था छ । त्यहाँ सूचनामा पहुँच दिनुका साथै अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन गरिएको तथा प्रेस काउन्सिल वा पत्रकार महासंघलगायतलाई शक्तिशाली बनाइएको पाइन्छ । नर्वे, फिनल्याण्ड, डेन्मार्क, क्यानडा र न्यूजिल्यान्डका पछिल्ला वर्षका घटनाक्रमहरुलाई हेर्दा उपरोक्त कुराको पुष्टि हुन्छ । सन् २०२५ मा विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । जसमा इजरायली सेनाको आक्रमणमापरी गाजामा मात्र २९ प्यालेष्टिनी पत्रकारहरुको मृत्युभएको तथ्यांक समावेश छ । पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या भएकोमा यसवर्ष विश्वभर मारिने पत्रकारको संख्या ६७ पुगेको जनाएको छ । इजरायली सेनाको आक्रमणमा मृत्यु हुने पत्रकारहरुको संख्या यो वर्ष कूल संख्याको ४३ प्रतिशत रहेको सो रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध शुरु भएदेखि हालसम्म २२० पत्रकारहरुको मृत्युभएको तथ्यांक रहेको छ । मिडिया समूह र प्रेस स्वतन्त्रतासँग सम्बद्ध बिभिन्न संगठनहरुले पहुँचका लागि आह्वान गरेपनि विदेशी पत्रकारहरु अझैपनि गाजामा प्रवेश गर्न समेत सकेका छैनन् । मेक्सिकोका वामपन्थी राष्ट्रपति क्लाउडिया शेनबामले पत्रकारहरुको सुरक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेपनि सन् २०२५ मा नौजना पत्रकारको मृत्युभएको आरएसएफको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आरएसएफकाअनुसार पत्रकारहरुका लागि सबैभन्दा खतरनाक देश भनिएका युद्धग्रस्त युक्रेनमा तीन र सुडानमा चार पत्रकारको मृत्युभएको छ । सन् २०१२ मा सिरियाली गृहयुद्धका क्रममा पछिल्लो तीन दशकमा सबैभन्दा बढी १४२ पत्रकार मारिएका थिए । सन् २००३ देखि यता प्रतिवर्ष करिव ८० जना पत्रकारको मृत्यु हुनेगरेको औसत तथ्यांक रहँदैआएको छ । आरएसएफको हालै सार्वजनिक वार्षिक प्रतिवेदनले आफ्नो कामका लागि जेलमा परेका पत्रकारहरुको संख्या पनि गणना गरेको पाइएको छ । जसमा चीनमा १२१, रुसमा ४८ र म्यानमारमा ४७ जना पत्रकार जेलमा परेको उल्लेख छ । सन् २०२५ को डिसेम्बर एक सम्ममा ४७ देशमा ५०३ जना पत्रकारलाई हिरासतमा लिइएको सो रिपोर्टमा उल्लेख गरिएको छ ।
युनेस्कोको रिपोर्टअनुसार सन् २०२५ मा ९१ जना पत्रकारको हत्याभएको भन्ने रहेको छ । पत्रकारमाथि हुने सांघातिक आक्रमण र नकारात्मक व्यवहार केवल व्यक्तिगत आक्रमणमात्रै नभई लोकतन्त्र, मानव अधिकार र समाजकै सत्य–तथ्यमा रहेका आधार स्तम्भमाथिको आक्रमण भएको ठानिएको छ । जसले पत्रकारिताको स्वतन्त्रतालाई कमजोर बनाएको छभने समाजमा भयको अवस्था सिर्जना गरेको छ । खासमा पत्रकारको सुरक्षा केवल पत्रकारको निजी नभई सम्पूर्ण समाजको साझा जिम्मेवारीको कुरा पनि हो । हालसम्मका घटनाक्रमहरुले के देखाएका छन्भने मीडिया तथा पत्रकारको सुरक्षा सुनिश्चित गर्न हरेक देशका सरकार, सुरक्षा एजेन्सी, र कानूनी संरचनालाई चुस्त बनाइएको हुनु पर्दछ । पत्रकारहरुका लागि सुरक्षा अभ्यास, मिडिया सुरक्षा तालिम र पत्रकार संघसंगठनहरुको सक्रिय संरक्षण आवश्यक देखिन्छ । हरेक सरकारले कानूनको निर्माण गर्दा मिडिया स्वतन्त्रता र सुरक्षालाई प्राथमिकता दिनुपर्दछ, ताकि स्वतन्त्र समाचार प्रवाह र जनचासोको रक्षा हुन सकोस् । समाज पनि पत्रकारमाथि हुने आक्रमण र धम्की, लगायतका कुराहरुमा सचेत हुनुपर्दछ । विश्वभर सन् २०२५ मा मारिएका, घाइते भएका र जेलमा बन्दी बनाइएका पत्रकारहरुको संख्या र अवस्थालाई केलाउँदा विश्व राजनीति फेरी त्रूmरतातर्फ अगाडि बढेको स्पष्ट हुन्छ । जसका बारेमा संयुक्त राष्ट्रसंघले नै विशेष व्यवस्था गर्नु–गराउनु आवश्यक छ ।

