आसन्न प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले प्रतिष्पर्धा गर्ने
काठमाडौँ । निर्वाचन आयोगका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरवाट १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ११४ पुगेको छ ।
गत २०७९ सालको निर्वाचनमा ८७ दलहरूले निर्वाचनमा भाग लिएका थिए । उनले दलहरूको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारीसमेत दिए ।
भट्टराईले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको जानकारीसमेत दिए । ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम भइरहेको जानकारी समेत दिए ।
उनले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।
भट्टराईले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिए ।
