१३३ औँ माओ जयन्ती र नक्कली माओवादीको पतन
नेपाललगायत विश्वभरनै गत शुक्रबार (डिसेम्बर २६) विश्व सर्वहारा वर्गका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्ति मनाइयो । यसक्रममा कतिपयले औपचारिक कार्यक्रमको आयोजना गरेर जन्म जयन्ती नै मनाएभने कतिपयले वक्तब्य दिएर औपचारिकता मात्र पूरा गरे । नेपालमा कतिपय कम्युनिष्ट पार्टीहरुले माओवाद र बिचारधारा समेत परित्याग गरेका छन् । त्यसैले उनीहरुले माओ जयन्ती मनाइरहने कुरा भएन । यसरी माओ जयन्ती खासगरी नेपालका कम्युनिष्टहरुलाई मापन गर्ने अवसर पनि भएको छ । नेपालको कम्युनिष्ट पार्टी भारतीय कम्युनिष्ट पार्टीको प्रभावमा स्थापना भएको हो । भारतीय कम्युनिष्ट पार्टी रुसी कम्युनिष्ट पार्टीको प्रभावमा जन्मिएको थियो । भारतमा सन् १९२० मै भारत कम्युनिष्ट पार्टीको जन्म भएको मानिन्छ । पछि त्यो भारतीय कम्युनिष्ट पार्टी बन्न पुग्यो । भारतमा पनि कम्युनिष्ट पार्टीको स्थापनाको मितिबारे बिवाद रहेको छ । तथापि भारतको तासकन्दमा गठित कम्युनिष्ट पार्टीको समिति सबैभन्दा पहिलो समिति मानिन्छ । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव परेको बेला रुसी पार्टीको पहलमा तेश्रोे इन्टरनेसनल गठन भएको तासक्न्द सम्मेलनमा भारतबाट पनि प्रतिनिधित्व भएको थियो । त्यहीँबाट भारतमा कम्युनिष्ट आन्दोलनको शुरुवात भएको मानिन्छ । सन् १९२५ मा कानपुर समिति गठन भएको थियो । भारतीय कम्युनिष्ट आन्दोलनले पनि कैयौं उतारचढाव पारगरेको देखिएको छ । तेलंगाना आन्दोलन, बंगाल आन्दोलन आदिमा त्यहाँका जनताको व्यापक प्रभाव रहेको र त्यसको असर अहिलेसम्म सामाजिकरुपमा रहेको पाइन्छ । तर, पार्टी नेतृत्वले देशको खास परिस्थिति अनुकूल राजनैतिक दिशा निर्देशगर्न नसक्दा आन्दोलनका उपलब्धिहरु स्थापित हुन सकेनन् । नेतृत्वले राजनैतिक अन्धानुकरणले गर्दा रुसी कम्युनिष्ट पार्टीले संसोधनवादीबाटो समातेपछि भारतीय कम्युनिष्ट पार्टी पनि त्यसको पछि लाग्यो । पार्टी विभाजनपछि सन् १९६२ मा माक्र्सवादी कम्युनिष्ट पार्टी गठन भएको थियो । त्यसबाट मानिसहरुले ठूलो अपेक्षा गरेका थिए तर त्यसले पनि बुजुर्वा वर्गप्रतिको सही दृष्टिकोण अपनाउन सकेन र रुसी संशोधनवादप्रति नै मौनताको नीति अपनाएको थियो । सन् १९६७ मा नक्सलवादी आन्दोलन भयो । सो आन्दोलनका पनि कैयौं कमिकमजोरी रहे ।
त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक दस्तावेजअनुसार सिपिसीको स्थापना सन् १९२१ को जुलाई एकमा भएको थियो । तर, हाल जुलाई २३ लाई मान्ने गरिएको छ । सिपिसीको संस्थापक राष्ट्रिय सम्मेलन जुलाईको २३–३१ मा भएकाले उपरोक्त मितिमा बिवाद भएको हुनसक्छ । चीनमा सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्तिबाट कम्युनिष्ट सत्ता स्थापित भएको थियो । तिनै माओको नाम र सिद्धान्तलाई अवलम्बन गर्ने कम्युनिष्ट पार्टी नेपाल र भारतमा छन् । तर, उनीहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नभएर रुसी कम्युनिष्ट पार्टीका पछिल्ला नीतिहरुको अनुशरण गरेका कारण सधैँ एकपछि अर्को असफलता ब्यहोरी रहेका छन् ००६ सालमा स्थापित भएको नेपालको कम्युनिष्ट पार्टी पनि शुरुदेखिनै बिवादमा परेको देखिएको छ । हालसम्म पार्टी स्थापना दिवसमासमेत एकरुपता आउन सकेको छैन । यसबीच मनमोहन अधिकारी, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र केपी ओलीगरी छजना कम्युनिष्ट नेता प्रधानमन्त्री भएपनि कम्युनिष्ट पार्टीको विश्वब्यापी मूल्य, मान्यता र आदर्शअनुसारको काम हुनसकेन । भारतको नक्सलवादी आन्दोलनको प्रभावमा ०२८ सालमा शुरुभएको झापा आन्दोलन ०३५ सालमा नेकपा (माले) हुँदै ०४६ सालपछि उमाले भएर संसदवादी राजनीतिमा प्रवेश गरेको थियो । ०२८ देखि ०४६ सम्मनै सो समूहले माओ बिचारधारालाई मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढेको देखिन्छ । तर, संसदीय राजनीतिमा प्रवेश गरेपछि पार्टीको बैठकबाट औपचारिक निर्णय गरेर माओ बिचारधारा परित्याग गरेर माक्र्सवाद र लेननवाद मात्र मान्ने अवस्थामा पुगेको थियो ।
त्यसैगरी तत्कालीन नेकपा (चौम) को एउटा धार अमेरिकाको आरसिपिको प्रभावमा परेर ०५२ पछि जनयुद्धमा गएको थियो । तर, सो समूहका केही नेताहरुले ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा जनयुद्ध बिसर्जन गरेकाले दुर्घटनामा प¥यो । त्यतिबेला जनयुद्धलाई भारतमा लगेर बिसर्जन गर्ने मध्येका डा. बाबुराम भट्टराईले कम्युनिष्ट राजनीति र पार्टी दुबै छाडेको झण्डै १० वर्ष बितेको छ । उहाँले आगामी १५ वर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट पार्टी नरहने घोषणा गरेको (योजना राखेको) पनि दुईवर्ष बितेको छ । त्यसैगरी जनयुद्धलाई दिल्लीमा लगेर बिसर्जन गर्ने मध्येका अर्का प्रमुख नेता पुष्पकमल दाहालले पनि गत महिना माओवादी केन्द्र पार्टी र माओवादको राजनीति छाडिसक्नु भएको छ । उहाँ पनि आपूmलाई नेपालमा नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा भारत र अमेरिका निकट बनाउने प्रयासमा रहेको देखिएको छ । दाहालले आपूm प्रधानमन्त्री रहेको बेला छिमेकी चीनलाई एक्ल्याउन गरेको प्रयासको चिनियाँ नेताहरुले समेत नेपाल भ्रमणकाक्रममा टिकाटिप्पणी गरेका थिए । हाल नेपालमा माओवाद मान्ने कम्युनिष्ट पार्टीहरु प्रायः हराउँदै गएका छन्भने माओ बिचारधारा मान्ने कम्युनिष्ट पार्टीहरुले पनि त्यस अनुसारको अभ्यास गर्न नसकेको देखिएको छ । हालको अवस्थामा विश्व नै साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणको जालोमा फस्दै गएको देखिएको छ ।
जसको प्रत्यक्ष असर नेपालमासमेत परेको छ । जसका कारण सामाजिक असमानताहरु बढ्दै गएका छन् । नेपालको राष्ट्रिय सार्वभौमिकता माथि विदेशी हस्तक्षेप बढिरहेको छ र शोषित पीडित जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दैगएको छ । यस्तो अवस्थामा पनि कतिपय कम्युनिष्ट पार्टी र समूहहरुले माओलाई संझन छाडेका छैनन् । खासमा माओले चिनियाँ भूमिमा गर्नुभएको संघर्ष, सामाजिक अन्तर्विरोधको सञ्चालन, मित्र शक्ति र शत्रु शक्ति छुट्याएर काम गर्ने कला र साँकृतिक क्रान्तिलगायतका कुराहरु सबैका सामु स्पष्ट छन् । माओले पनि रुसको भ्रमण गरेर स्वदेश फर्केपछि स्टालिनको शैलीमा पार्टी सञ्चालन गर्ने प्रयास गर्दा असफल भएका कुराहरु पनि इतिहासमा उल्लेख छन् । त्यसैगरी माओले आफ्नै जीवन कालमा माओवाद भन्न नहुने भनी गर्नुभएको चिनियाँ क्रान्तिको ब्याख्या र विश्लेषण पनि उल्लेख्य रहेको छ । माओ बिचारधाराले राष्ट्रिय स्वाधीनताको रक्षा कसरी गर्ने, उत्पीडित वर्गलाई कसरी मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण कसरी गर्ने तथा जनअधिकारको स्थापना कसरी गराउने भन्ने राम्रो शिक्षा दिएको छ । माओले राजनीतिमा देखिने अवसरवाद, बैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरुका विरुद्ध निर्मम वैचारिक र राजनीतिक संघर्ष गरेका कतिपय दृष्टान्तहरु पनि रहेका छन् । नेपालमा कतिपयले साम्राज्यवादीहरुको प्रभावमा परेर भएभरका राम्रा कुराहरु उठाउने र भएभरका नराम्रा काम गर्ने गरेकाले जनतामा विभिन्न खालका भ्रमहरुको सिर्जना भएको देखिएको छ । नेपालका कम्युनिष्टहरुले ०४६ साल अघिको संगठनात्मक अवस्था र बिचारकाबारेमा स्मरण मात्र गर्न सकेमा पनि धेरै महत्वपूर्ण उपलब्धी प्राप्त हुनसक्ने देखिएको छ । खासमा माओ बिचारधारा भनेको कृषिमा आधारित राजनीति हो । जसले विध्वंशलाई भन्दा सेवालाई बढी प्रमुखता दिएको पाइन्छ । फुट र विभाजनलाई भन्दा एकतालाई प्राथकिता दिन्छ । हालसम्म पनि नेपालका कम्युनिष्टहरुले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तार र उनीहरुबाट सिक्ने कलाको विकासगर्न नसक्नु ठूलो कमजोरी भएको छ ।
हाल चिनियाँ कम्युनिष्ट पार्टीलाई संशोधनवादी भन्ने गरिन्छ । तर, त्यहाँका नेताहरुले माओ बिचारधाराकै आधारमा आफ्नो मुलुकको विकास गरेको बताउने गरेका छन् । पछिल्ला कतिपय कार्यक्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टी घरेलु र विदेशी दबाबसँग लड्दै आएको योद्धा भएको बताउँदै चीन विश्वको धनी र उन्नत शक्ति बन्नको लागि कम्युनिष्ट पार्टीको निरन्तर शासन आवश्यक रहेको बताउने गर्नुभएको छ । चिनियाँ नागरिकहरुले कहिल्यै अरु देशका जनतालाई धम्की, दबाब वा दासत्वका राख्न चाहेनन् । विगतमा त्यस्तो गरेनन् र भविष्यमा पनि यस्तो गर्ने छैनन् भन्ने उहाँको भनाई रहने गरेको छ । चिनियाँ जनताले कहिल्यै पनि विदेशी शक्तिले आपूmहरुलाई धम्की दिन, दबाब दिन वा दास बनाउन दिने छैनन् । जसले त्यस्तो गर्ने कोसिस गर्छ, उसका विरुद्ध चिनियाँहरु जाइलाग्ने नीतिसमेत अगाडि सारिएको छ । राष्ट्रपति सिले चीन विगतमा शान्तिको लागि बनेको शक्ति भएको बताउँदै आउनु भएको छ । सन् १९२१ मा स्थापना भएर आजसम्म आइपुग्दा चीनको कम्युनिष्ट पार्टीले धेरै उतार–चढाव झेलेको देखिएको छ ।
खासमा चीनको कम्युनिष्ट पार्टीको विचारधारा आफ्नै मौलिक भएकाले त्यहाँको कम्युनिष्ट पार्टीको शासनलाई कसैले पनि चुनौती दिननसकेको देखिएको छ । सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिको सफलताले चिनियाँ क्रान्तिलाई बल दिएको देखिएको थियो । चीनका बिचारकहरुमा देशलाई एकीकृत गर्नको लागि माक्र्सवाद नै सबैभन्दा उत्तम विकल्प भएको विश्वास भएपछि चीनमा कम्युनिष्ट पार्टी स्थापनाको जग बनेको थियो । सन् १९१९ मा चीनमा साम्राज्यवाद र सामन्तवाद विरुद्धको आन्दोलन शुरुभएको थियो । सोहीक्रममा त्यहाँका मजदुरहरुले विशाल शक्ति देखाएका थिए । नेपालमा पछिल्लो समयमा कतिपयले कम्युनिष्टको आबरणमा कम्युनिष्टहरुलाई नै तितरबितर बनाउने काम गरिरहेका छन् । २० वटाभन्दा बढी कम्युनिष्ट पार्टी रहेको मुलुक नेपालमा हाल जुन ढंगले राष्ट्रिय स्वाधिनता संकटमा परेको छ, त्यो ठूलो लज्जाको विषय हो । त्यसैले माओ जयन्ती मनाउँदै गर्दा नेपालका कम्युनिष्टहरुले माओ बिचारधारालाई नेपाली भूमीमा प्रयोग गरेर नेपाल र नेपालीलाई विश्व साम्राज्यवादी जालोबाट मुक्त गराउने प्रयास गर्नुपर्दछ । तबमात्र हरेक वर्ष माओ जयन्ती मनाउनुको अर्थ रहन्छ ।

