काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस

२०८२ पुष १५ गते, मंगलवार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशैभरी चिसो बढिरहेको जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्ष काठमाडौंमा मापन गरिएको यो अहिलेसम्मकै कम तापक्रम हो । महाशाखाका अनुसार आउँदा दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना रहेको छ ।
यसअघि सोमबार (पुस १४) काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री र आइतबार (पुस १३) ५.४ डिग्री सेल्सियस थियो । पुस ८ गते भने न्यूनतम तापक्रम ४.९ डिग्री मापन गरिएको थियो ।
मंगलबार बिहान सार्वजनिक गरिएको १७ स्थानको विवरणअनुसार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम –४.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुम्लामा सोमबार –५.५ र आइतबार –४.६ डिग्री तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै, ओलखढुंगामा ४.६, दिपायलमा ५.२, ताप्लेजुङमा ५.७, धनकुटामा ७.८, डडेलधुरामा ७.९, वीरेन्द्रनगरमा ८.३ र घोराहीमा ८.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]