नेपालका कम्युनिष्टहरुले पछाडि फर्केर हेर्नुपर्ने अवस्था

२०८२ पुष २५ गते, शुक्रबार

डा. केशव देवकोटा

नेपाल यतिबेला विभिन्न किसिमका राजनीतिक अन्योल र अनिश्चितताको भूमरीमा फसेको छ । तर त्यो अन्योल र अनिश्चितताको भूमरीबाट देश, राजनीति र पार्टीहरुलाई निकाल्ने र नयाँ बाटोमा अगाडि बढाउने कुनै प्रयासहरु भइरहेका छैनन् । सबैका आ–आफ्ना ऐतिहासिक यात्रा, सफलता र असफलताका कुराहरु हुन्छन् । जसको समयसापेक्ष समीक्षाको जहिले पनि आवश्यकता रहन्छ । खासगरी नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टीहरुप्रतिको जनआकर्षण हालसम्म पनि कायमै रहेको छ । त्यस्तो आकर्षण किन रह्यो र नेपालका कम्युनिष्टहरुले त्यसतर्फ के कति ध्यान दिए ? भन्ने कुरापनि हालका सन्दर्भमा ब्याख्या र विश्लेषणको विषय हुनसक्छ । नेपालमा आजको २१ औ शताब्दीमा पनि सामाजिक र आर्थिक असमानता कायमै रहेको छ । गरिवी, वर्गीय विभाजन, जमिन र साधनको असमान वितरणजस्ता समस्याहरु पनि कायमै रहेका छन् । जसलेगर्दा समानताको नारा बोकेको कम्युनिष्ट बिचारधारा र पार्टीहरुप्रति धेरैको आकर्षण बढेको स्पष्ट छ । त्यसैगरी नेपालको सामन्तवाद र राजतन्त्रविरुद्धको संघर्षमा पनि कम्युनिष्टहरुले लामो समयसम्म संघर्ष गरेकाले जनतामा उनीहरुप्रति विश्वास पैदाभएको हो । जनताका हक र अधिकारका कुरा उठाउनेमा पनि कम्युनिष्टहरुनै अगाडि रहेका छन् । मजदुर, किसान, दलित, महिला र पीछडिएका बर्गका अधिकारका लागि कम्युनिष्टहरुले नै आवाज उठाएका छन् । त्यसैगरी भूमिसुधार र रोजगारीको आश्वासन, भूमिहीनलाई जमिन दिलाउने, रोजगारीको व्यवस्था गराउने र शोषणको अन्त्य गर्ने प्रतिवद्धताले पनि ग्रामीण क्षेत्रमा कम्युनिष्टहरुप्रति विशेष आकर्षण बढेको हो ।

माओवादी जनयुद्ध र त्यसपछि भएको गणतन्त्रको स्थापनामा पनि कम्युनिष्ट शक्तिको उल्लेख्य भूमिका रहेको थियो । कम्युनिष्ट पार्टीहरुको संगठनात्मक मजबुती, अनुशासन र जनसंगठनमार्फत गाउँगाउँसम्म पहुँच हुनुले पनि आकर्षण बढाएको देखिएको छ । तर पछिल्लो समयमा खासगरी ०६३ को परिवर्तनपछि कतिपय कम्युनिष्ट समूहले मालेमावादलाई छाड्दै अवसरवादलाई पछ्याउँदै गएका कारण केही अविश्वासको वातावरण पनि बढेको देखिएको छ । हाल आएर कम्युनिष्ट नामले मात्र जनताका बीचमा विश्वास हासिल गर्न नसक्ने अवस्था सिर्जना भएको छ । पछिल्ला दिनमा नेपालका कम्युनिष्टहरुले क्रान्तिकारी एजेन्डा त्याग्दै गएको आरोप पनि लाग्नथालेको छ । नेपालमा कम्युनिष्टहरुको ०४६ बाट शुरुभएको सत्तारोहणको अवस्था खासै जनपक्षीय हुनसकेको छैन । शान्ति प्रक्रियापछि त धेरै कम्युनिष्ट नेताहरु सत्ता केन्दित हुँदै गएको देखिएको छ । जसले गर्दा उनीहरु जनअपेक्षा पूरा गर्न असफल बन्दैगएका छन् । ०६३ को परिवर्तनपछि त भूमि सुधार, वर्गीय समानता, रोजगारीजस्ता मुद्धाहरु ओझेलमा परेको देखिएको छ । अर्कातिर आन्तरिक गुटबन्दी र विभाजन बढ्दै गइरहेको छ । हुँदा–हुँदा हाल नेपालमा कम्युनिष्ट पार्टीको संख्या नै २० भन्दा बढी रहेको तथ्यांक छ । त्यसैगरी कम्युनिष्ट पार्टीहरुबीचको एकता टिकाउसमेत हुन छाडेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता जसरी कटुतापूर्णरुपमा अन्त्य भएको थियो, त्यसले जनसाधारणमा दीर्घकालीन रुपले नै नकारात्मक असर गरेको देखिएको छ । पछिल्लो समयमा नेपालका कम्युनिष्ट पार्टीहरुमा बैचारिकभन्दा व्यक्तिगत शक्तिसंघर्ष हावी हुँदै गएको देखिएको छ । जसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम गरेको छ । त्यसैगरी कतिपय कम्युनिष्ट नामधारी नेताहरुमाथि भ्रष्टाचार गरेको र सत्ताको दुरुपयोग गरेकोलगायतका आरोपहरु पनि लाग्न थालेका छन् । ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि कम्युनिष्ट पार्टीलाई स्वच्छ राजनीतिको प्रतिक मानिन्थ्यो । तर, सरकारमा पुगेपछि उनीहरुमा पनि पुराना समस्या र रोगहरु दोहोरिएको देखिएको छ । एकातिर राजनीतिमा अवसरवाद हाबी बन्दैगएको छभने अर्कातिर नातावाद र कृपावाद बढेको देखिएको छ । हालै निर्वाचन आयोगमा पेश भएको समानुपातिक निर्वाचनतर्फको उम्मेदवारहरुको सूचीले उपरोक्त कुराको पुष्टि गरेको छ । देशमा जहानियाँ राजनीतिलाई कायम राख्नका लागि समानुपातिक निर्वाचन पद्धतिको रचना गरिएकोभन्ने आवाज पनि उठेको छ । जसले गर्दा नियुक्ति र अवसरहरुमा समेत योग्यताभन्दा निकटता हावी भएको आरोप लागेको छ । त्यसैगरी कतिपय कम्युनिष्ट पार्टीमा अधिनायकवादी शोच र असहिष्णुता बढेका कुराहरु पनि बाहिर आउन थालेका छन् । कतिपय अवस्थामा प्रेस, नागरिक समाज र आलोचना सहननसक्ने खालका व्यवहारहरु पनि देखिएका छन् । पार्टीभित्र जनवादी केन्द्रियताको नीति कमजोर बन्दै निर्णय सीमित नेताको हातमा केन्द्रित हुनथालेको देखिएको छ । त्यसैगरी नेपालका कम्युनिष्टहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्तुलनमा अस्पष्टता बढेको देखिएको छ । कम्युनिष्ट आन्दोलनले नेपालमा सामन्तवाद विरुद्ध संघर्ष, मजदुर र किसानका अधिकार, गणतन्त्र स्थापना, लोकतन्त्रजस्ता एजेन्डालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको कुरालाई पनि नजरअन्दाज गर्न सकिँदैन । तर, सत्तामा पुगेपछि कतिपय कम्युनिष्ट पार्टीहरुमा व्यवहार र सिद्धान्तबीच दूरी बढेको देखिएको छ । भ्रष्टाचार, गुटबन्दी, र व्यक्तिगत स्वार्थ हावी भएको भन्ने आवाजहरु पनि उठ्ने गरेका छन् । नेपालका कम्युनिष्ट पार्टी र नेताहरुमा एकता र विभाजनको अनुभव पनि लामो रहेको छ । पछाडि फर्केर हेर्दा, बैचारिक मतभेदभन्दा पनि नेतृत्व संघर्ष र शक्ति समीकरणले विभाजन गराएको देखिएको छ ।

जसले आन्दोलनलाई कमजोर बनाएको अवस्था छ । शुरुमा जनताको पक्षमा उभिएकाहरु क्रमशः जनविरोधी बन्दैगएका उदाहारणहरु पनि रहेका छन् । जनतासँगको सम्बन्ध किन कमजोर भयो ? जनअपेक्षा किन पूरा भएनन् ? भन्नेलगायतका कुराहरु पनि हालको अवस्थामा विचारणीय भएका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्ष र पार्टीगत समीक्षाको प्रचलन पनि रहँदैआएको थियो । जुन प्रचलन पछिल्लो समयमा हराउँदै गएको छ । खासगरी गत भदौ २३ र २४ गतेको घटना र भदौ २७ गतेको घोषणाका सन्दर्भमा नेपालको कम्युनिष्ट राजनीति विभाजित भएको देखिएको छ । कतिपयले राष्ट्र र राष्ट्रियताको सवाललाई भन्दा ध्वंशलाई बढी समर्थन गरेको र देशमा विचारको भन्दा बल र साम्प्रदायिक भावनालाई बढी महत्व दिन खाजेको पनि देखिएको छ । जबकी कम्युनिष्टहरु अरुभन्दा बढी देशभक्त हुन्छन्भन्ने विश्वव्यापि मान्यता छ । तर, नेपालका कतिपय कम्युनिष्टहरुमा देशभक्ति कमजोर र विदेश भक्ति बलियो हुँदैगएको देखिएको छ । त्यसैले हालको अवस्थामा खासगरी कम्युनिष्ट राजनीति रुचाउने र अपनाउनेहरुका लागि पछाडि फर्केर हेर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यस्तो समस्या अरुप्रति दोषारोपण गर्नका लागि होइन, आफ्नो सिकाइका लागि हुनुपर्छ । आन्तरिक लोकतन्त्र बलियो बनाउने, नीति तथा कार्यक्रम व्यवहारमा उतार्ने, र बदलिँदो समाजअनुसार वाम बिचारलाई पुनःपरिभाषित गर्ने अवसर यही आत्मसमीक्षाले दिन सक्छ । संक्षेपमा भन्नुपर्दा नेपालका कम्युनिष्ट पार्टीहरुले पछाडि फर्केर हेर्दा गर्व गर्न लायक उपलब्धिहरु पनि रहेका छन् । तर, सुधार नगरी अघिबढ्न नसकिने गम्भीर कमजोरीहरु पनि रहेका देखिन्छन् । निरन्तर समीक्षामार्फत आपूm र आफ्नो पार्टी राजनीतिलाई सुधार्ने प्रयास गर्नु बढी उपयुक्त हुन्छ ।

 कम्युनिष्ट राजनीतिलाई अन्तर्राष्ट्रिय राजनीतिकारुपमा पनि लिने गरिन्छ । जसका विश्वव्यापि मूल्य, मान्यता र आदर्शहरु पनि रहेका छन् । वर्गविहीन समाजको स्थापनाका लागि प्रयास गर्नुपर्ने, जसमा धनी र गरिव, मालिक र मजदुरजस्ता वर्गीय भेद अन्त्य गराउनुपर्ने दायित्व रहेको छ । त्यसैगरी उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापित गराउनुपर्ने दायित्व पनि छ । जमिन, उद्योग, कारखाना, प्राकृतिक श्रोतजस्ता उत्पादनका साधनहरु व्यक्तिगत नभई सामूहिक वा राज्यको स्वामित्वमा हुनुपर्छभन्ने मान्यता रहेको छ । सबै नागरिकलाई आर्थिक, सामाजिक र राजनीतिक समान अधिकार हुनुपर्छ । जाति, लिंग, धर्म, भाषा वा क्षेत्रका आधारमा भेदभाव हुनुहुँदैन भन्ने मूल्य र मान्यताहरु पनि रहेका छन् । राज्यसत्ता श्रमिक वर्गको हातमा हुनुपर्छ भन्ने अवधारणा पनि छ । त्यसैगरी कम्युनिष्ट बिचारधाराले राष्ट्रिय सीमाभन्दा माथि उठेर विश्वभरका श्रमिकहरुको एकतामा जोड दिनुपर्ने कुराहरु पनि रहेका छन् । सोही कारण संसारका मजदुरहरु एक होऔँभन्ने नारानै अगाडि सारिएको छ । कम्युनिष्टहरुको व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिने आदर्श हुनुपर्ने ठानिन्छ । समग्रमा कम्युनिष्ट राजनीतिको लक्ष भनेको वैज्ञानिक समाजवाद स्थापना गराउने दिशामा अगाडि बढेको हुनुपर्दछ । त्यसैका लागि मालेमावादको सिद्धान्तको प्रतिपादन पनि गरिएको छ । नेपालका कम्युनिष्टहरु मालेमावादका सन्दर्भमा  को कति नजिक र टाडा रहेका छन् ? त्यसको बिहंगम लेखाजोखा आजको आवश्यकता हो ।

प्रतिक्रियाहरु

[anycomment]